Logo

भारतबाट फर्किएका २ युवकको क्वारेन्टिमै मृत्यु



कखरा संवाददाता


२५ जेठ, काठमाडौं । भारतबाट फर्किएका दुई युवकको क्वारेन्टिनमै मृत्यु् भएको छ । डोटी र बैतडीमा दुई युवकको क्वारेन्टिनमै मृत्यु भएको हो ।

डोटीको केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टिनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ । वडा नं ३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको हो । उनी लामो समयदेखि मुटुका बिरामी थिए । बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबा गजैसिं ऐरले बताए ।

भारतको दिल्लीबाट उनी जेठ २० गते आइपुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थिए । ‘१२÷१३ वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ,’ मृतकका बुबा ऐरले भने, ‘क्वारेन्टिनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो ।’

छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टिन बस्ने शर्तमा भित्र पस्नुभएको थियो । ‘गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो’, उनले भने, ‘पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो ।’ मृतकका बुबा पनि गए रातिबाट क्वारेन्टिनमै बसेका छन् ।

बैतडीमा पनि भारतबाट फर्किएकै दिन एक युवकको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका स्वास्थ्य सहायक प्रेमसागर भट्टले बताए ।

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु भएको स्वास्थ्य सहायक भट्टले बताए ।

मृतकको स्वाबको नमूना सङ्कलन गरिएको र कोरोना परीक्षणका लागि धनगढी पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । । ती व्यक्तिसँग बैङ्गलोरबाट अरु १३ जना पनि शनिबार बिहानै पाटन आइपुगेको बताइएको छ । उनीहरु पनि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसिरहेका छन् ।

यसअघि पनि भारतबाट आएर क्वारेन्टिनमा बसेकी एक महिलाको यही जेठ २० गते मृत्यु भएको थियो । पुर्चौँडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया ती महिलाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्