Logo

सुनको मूल्य आजबाट तोकिनेः ह्वात्तै मूल्य बढ्ने शाक्यको भनाइ



कखरा संवाददाता


२५ जेठ, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजदेखि सुनचाँदीको मूल्य तोक्ने भएको छ । गत चैत ११ गतेबाट लकडाउन शुरु भएसँगै रोकिएको सुनचाँदीको मूल्य तोक्ने काम महासंघले आजदेखि थाल्न लागेको हो ।

२ महिनाभन्दा लामो समयपछि तोक्न लागिएको सुनचाँदीको मूल्यमा भारी बढोत्तरी हुने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले जानकारी दिए । आइतबारबाट तोकिने सुनको मूल्य लगभग १० हजार रुपैयाँसम्म बढ्नसक्ने शाक्यले बताए । चैतमा ७७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनको मूल्य आइतबार ८७ हजारभन्दा बढी कायम हुने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको कारणले नेपालमा पनि सुनको मूल्य बढ्न लागेको हो । अन्तर्राष्ट्रिय बजारमा चैतको १० गते १५ सय डलर प्रतिऔँसमा आउने सुन अहिले १८ सय डलर प्रतिऔँसको हाराहारीमा पुगेको छ । सुनको मूल्य बढ्नुमा अन्तर्राष्ट्रिय बजार मात्र नभएर बजेट भाषणमा सरकारले लगाउने भनेको करको पनि प्रभाव देखिएको छ ।

सरकारले सुनमा प्रति १० ग्राम २ हजार रुपैयाँ कर लगाउने घोषणा गरेकोले पनि सुनको मूल्य थप महंगो हुन गएको शाक्यले बताए । शाक्यका अनुसार २०७७/७८ को बजेटभाषण पछि मात्रै प्रतितोला सुनमा २३ सय देखि २४ सय सम्म रुपैयाँ कर लाग्नेछ । यसअघि पनि सुनमा कर लाग्दै आएको थियो ।

आइतबारदेखि सुनको मूल्य तोकिएपनि कारोबार भने एकदमै कम हुने देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को शुरुवातमा पनि सुनको मूल्य ह्वात्तै बढेसँगै कारोबार घटेको थियाे । उक्त समयमा सुनको कारोबारमा ८० प्रतिशतसम्म गिरावट आएको थियो । अहिले पनि विश्वव्यापी कोरोनाका महामारी र आर्थिक उपार्जनको बाटो बन्द भएकोले सुनचाँदीको कारोबार राम्रो नहुने शाक्यले बताए । उनी भन्छन्, ‘लकडाउनले मानिसलाई के खाने के लाउने भाको बेलामा को सुन किन्न आउँछ ?, त्यसमाथि मूल्य बढेको बढ्यै छ ।’

सरकारले बढ्दो तस्करी नियन्त्रणका लागि सुनमा कर लगाउनु परेको तर्क गरिरहँदा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्य भने यसलाई मान्न तयार छैनन् । सरकारले सुनमा कर बढाएसँगै तस्करीको सम्भावना झन् बढेको उनको भनाइ छ । सरकारले सुनलाई बिलासिताको वस्तु भन्दै कर अत्याधिक बढाएको हो । सुनमा मात्र नभएर सरकारले पेट्रोलियम पदार्थ र विद्युतिय सवारीमा लाग्दै आएको करमा पनि वृद्धि गरेको छ । जसको विरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्