Logo

रुकुम घटनाको १२ दिनपछि बल्ल नेकपाद्वारा विज्ञप्ति



कखरा संवाददाता


२२ जेठ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुम पश्चिमको चौरजहारी घटना भएको १२ दिनपछि त्यसको निन्दा गरेको छ ।

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसको अवसर पारेर बुधबार निकालिएको पार्टी महासचिव विष्णु पौडेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा निष्पक्ष छानबिन गर्न, दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पिडितलाई क्षतिपुर्ती दिलाउन सरकारसँग माग गरिएको छ ।

नेकपाले राजनीतिक र कानुनीरुपमा जातीय छुवाछुत अन्त्य भएपनि व्यवहारिकरुपमा देखिएका यस्ता घटनाले सामाजिक तथा सांस्कृतिक रुपान्तरणको गम्भिर, सार्थक र योजनाबद्ध कार्यान्वयन हुन नसकेको स्विकार गरेको छ ।

यस्तै उसले जातीय छुवाछुत तथा विभेदमा संलग्नहरु पार्टीभित्र अँटाउन नसक्ने चेतावनी दिएको छ ।अन्तरजातीय प्रेम सम्बन्धका कारण सृजित रुकुम पश्चिम घटनामा ६ जनाको ज्यान गएको थियो। ११ दिनको अन्तरमा ती शवहरु भेरी नदिमा भेटिएका थिए ।

छैटौँ शव मंगलबार जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदिमा स्थानीयले भेटेका हुन् । जाजरकोटका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन ११ दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेकोमा स्थानीयको आक्रमणपछि समूहका ६ जना बेपत्ता भएका थिए ।

नवराजको शव सोही दिन राती घटनास्थलभन्दा डेढ किलोमिटर पर भेरी नदिमा भेटिएको थियो । अर्को शव भोलीपल्ट र तेस्रो शव घटना भएको चौथो दिनमा भेटिएको थियो। पाँचौँ र छैटौँ दिन थप शव भेटिएका थिए । नवराजकी प्रेमिका लिन पुगेको समूहमध्ये बाँचेर फर्किएकाले गाउँलेले मारेर नदीमा फ्याँकेको आरोप लगाउँदै आएका छन् ।

यता सोतीका गाउँलेले भने भेरी नदिको किनारमा पुर्‍याएर ट्रयाप बनाएर समात्न खोज्दा युवकहरु नदीमा हाम फ्याँकेको र बेपत्ता भएको दावी गर्दै आएका छन् । घटनामा सोतीका २० जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

प्रहरीले वडाध्यक्ष, प्रेमिका भनिएकी युवती र उसका आमाबुबासहित १८ जनालाई पक्राउ गरिसकेको छ । घटनाको गृह मन्त्रालयले पनि छानबिन गरेको छ । रुकुम पश्चिम प्रहरीले पनि अनुसन्धान गरिरहेको छ । जातीय विभेद्का कारण घटना भएको भन्दै काठमाडौंमा दिनहुँजसो प्रदर्शनहरु भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्