Logo

कांग्रेसका आठ सांसदले दर्ता गराए संविधान संशोधन प्रस्ताव



कखरा संवाददाता


२१ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका आठ जना सांसदले संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसको केन्द्रीय कार्य समितिको निर्णय अनुसार तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएर असफल भएको संविधान संशोधन प्रस्तावलाई फेरि दर्ता गराएका हुन् ।

तराई मधेसबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरी, अमरेश कुमार सिंह, चित्रलेखा यादव, उमाकान्त चौधरी, तेजुलाल चौधरी, अभिषेकप्रताप शाह, नमिता चौधरी र पद्मनारायण चौधरीले गैर सरकारी विधेयकक रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसले संविधानका ११ वटा धारामा संशोधन प्रस्ताव दर्ता गरेको सांसद सिंहले जानकारी दिए । कांग्रेसको संशोधन प्रस्तावमा सोमबार राजपा र समाजवादीले दर्ता गरेको संशोधन विधेयकसँग मिल्दोजुल्दो छ ।

संशोधन विधेयकमा प्रदेशको सीमाङ्कन र संख्या हेरफेर गर्न संघीय आयोग गठन गर्नुपर्ने, अंगीकृत नागरिकता दिन सहज बनाउनुपर्ने, सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा परिभाषित गर्नुपर्नेलगायतका विषय समेटिएका छन् ।

मधेसी दलले प्रदेशको अधिकार बढाउने गरी संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि अरु दलले पनि काउन्टर स्वरुप गैर सरकारी विधेयक दर्ता गराउन लागेका हुन् । सरकारले लिम्पियाधुरासहितको भूभाग निशासन छापमा रहेको नेपालको नक्सा संशोधन दर्ता गरेपछि राजपा र समाजवादीले पनि यहीँ बेला आफ्ना माग सम्बोधन हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

संघीयता खारेज गर्ने अर्को संशोधन
राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको प्रस्ताव गर्दै संविधान संशोधन प्रस्ताव दर्ता गराउने भएको छ ।

संघीयता आवश्यक छैन भने सुरुदेखि नै वकालत गर्दै आएको जनमोर्चाले बुधबार संसद सचिवालयमा नेपालको संविधानमा रहेका संघीयता सम्बन्धि सबै व्यवस्था एक मुष्ट खारेज गर्ने गरी संशोधन प्रस्ताव दर्ता गराउन लागेको हो ।

संविधान संशोधनका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक पर्ने भए पनि जनमोचाको तर्फबाट दुर्गा पौडेल एक जनामात्र सांसद छिन् । पौडेलले आफ्नो पार्टीको तर्फबाट संशोधन प्रस्ताव बुधबार दर्ता हुने जानकारी दिँदै भनिन्, ‘हामीले संघीयता सम्बन्धी सबै प्रावधान र अनुसूचीहरु खारेजीको हुनुपर्ने संशोधन प्रस्ताव तयार गरिरहेका छौं ।’

उनी मंगलबार नै संशोधन विधेयक दर्ता गराउन संसद सचिवालय पुगे पनि प्रक्रिया नमिलेपछि फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्