Logo

एक सातामा नेपालबाहिर कोरोनाले ७ नेपालीकाे मृत्यु



कखरा संवाददाता


२० जेठ, काठमाडौं । पछिल्लो एक सातामा नेपालबाहिर कोरोना भाइरसका कारण सात जना नेपालीले ज्यान गुमाएको गैह्र आवासीय नेपाली संघ नेपाल(एनआरएनएले जनाएको छ । एनआरएनएका अनुसार युएई, युके, अमेरिका, साउदी अरब र कुवेतमा एक एक नेपालीले ज्यान गुमाएका छन् भने बहराइनमा २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसका कारण विश्वभर एक सय २७ जना नेपालीको ज्यान गएको छ। विदेशमा मात्र एक सय २१ नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

फाइल तस्बिर

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ । समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १७ पुगेको छ। साउदी अरबमा ८ , बहराइनमा ३ , कुवेतमा २ तथा कतार , आयरल्याण्ड , जापान १ , टर्की , नेदरल्याण्ड्स र स्वीडेनमा एक एक जनाको ज्यान गएको छ ।

संयोजक डा।सापकोटाका अनुसार नेपाल बाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । समितिका अनुसार कतार, अमेरिका, युएई, युके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्चुगल, क्यानाडा, आयरल्याण्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्वीजरल्याण्ड, फिनल्याण्ड, जर्मनी, साईप्रस, न्यूजील्याण्ड, हङ्गकंङ्ग, भारत, माल्टा, पोल्याण्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्वीडेन, नेदरल्याण्ड्स लगायतका ३४ देशमा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्