Logo

मदनकृष्ण सोधे, ‘मेरो टिकटक नाच कस्तो लाग्यो त ?’



कखरा संवाददाता


२८ बैशाख, काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठले हालै आफ्नो टिकटक अकाउन्टमार्फत एक भिडियो सार्वजनिक गरे । ‘के छ खबर पुरानो जोडाको’ बोलको गीतमा उनी नाचिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । ऊर्जावान र फुर्तिला देखिएका उनको नृत्यले सबैलाई मोहित बनाएको छ । साढे ५२ हजारले उक्त भिडियो हेरेका छन् भने पाँच हजारभन्दा बढी लाइक, दुई सयभन्दा बढी कमेन्ट र एक सय ४४ पटक सेयर भएको छ ।

‘त्यो गीतमा गौरी मल्लले राम्रो नाचेको देखेर मलाई पनि नाचौँ–नाचौँ लाग्यो,’ उनी भन्छन् । छोरी सरानाले उनी फुर्तिसाथ नाच्दै गरेको भिडियो बनाएकी हुन् । आफ्नो फेसबुक पेजमा श्रेष्ठले भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, ‘पार्किन्सन रोग भए पनि फुर्तिलो छु ।’ उनले आफ्नो भिडियो यसरी भाइरल होला भनेर सोचेका थिएनन् । ‘साथीभाइ र शुभचिन्तकबाट पाएको प्रतिक्रियाबाट खुसी र ऊर्जा थपेको छ,’ उनी भन्छन् ।

भक्तपुरस्थित मानव सेवा आश्रमका, सद्भावना दूत पनि रहेका उनी यतिवेला सहकर्मी हरिवंश आचार्यसँगै लकडाउनको समयमा समस्यामा परेकाहरूका लागि राहत वितरणमा जुटेका छन् । लकडाउनका वेला व्यस्त दैनिकीबाट छुट्कारा पाएर परिवारसँग बिताउन पाएकामा उनी खुसी छन् । हालै उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउनुपर्ने सावधानी समेटेर सन्देशमूलक गीत ल्याएका छन् ।

‘लकडाउन लकडाउन संसार नै छ नि सटडाउन’ बोलको गीतमा उनको लेखन, छोरा यमनको स्वर र संगीत तथा छोरी सरानाको भिडियो निर्देशन र सम्पादन छ । गीतको रेकर्डिङ र म्युजिक भिडियोको निर्माण पनि घरभित्रै गरिएको उनी बताउँछन् ।

@madankrishnashrestha1मेरो टिकटक नाच कस्तो लाग्यो त? 😁😁😁

♬ Original – राजा रमेश

प्रतिक्रिया दिनुहोस्