Logo

तारकेश्वरका छ सहकारीद्वारा संयुक्त रूपमा राहत बितरण



कखरा संवाददाता


२७ बैशाख, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को महामारीको संक्रमण नियन्त्रण गर्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) को प्रत्यक्ष मारमा परेका बिपन्न बर्गलाई तारकेश्वर नगरपालिका वडा नं ११ अन्तर्गतका विभिन्न सहकारीले संयुक्त रुपमा राहत सामाग्री वितरण गरेका छन् ।

स्थानिय नेपालटार आसपासमा रहेका ६ वटा सहकारीहरुको संयुक्त पहल, सक्रियता र योगदानमा सोही क्षेत्रमा बसोबास गरिरहेका ६० जनालाई शनिबार स्थानीय नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयको प्राङ्गणबाट चामल, तेल, दाल, नुन, बिस्कुट र साबुन वितरण गरिएको हो ।

नेपालटार क्षेत्रलाई कार्यक्षेत्र बनाएका चिरायु बहुउद्देशिय सहकारी, गोल्डेन अर्थ बचत तथा ऋण सहकारी, नेपालटार बचत तथा ऋण सहकारी, नयाँ पुस्ता बचत तथा ऋण सहकारी, बाबा तारकेश्वर बचत तथा ऋण सहकारी र कृशाङ्गी बचत तथा ऋण सहकारी संस्थाले सहकारीताको सामाजिक उत्तरदायित्व अन्तरगत संकटमा परेका श्रमिक वर्ग तथा असाहयलाई सहयोग गरेको बताइएको छ ।

लकडाउन डेढ महिनाभन्दा बढी लम्बिएसँगै दैनिक ज्यालादारी र गरिखाने विपन्न बर्गका समुदायलाई खाद्यानको संकट भइरहेको अवस्थालाई मध्यनजर गर्दै केही हदसम्म सहजता होस् भनेर राहत बितरण गरिएको आयोजक संस्था मध्येका एक गोल्डेन अर्थ बचत तथा ऋण सहकारीका उपाध्यक्ष सन्तोष ढुङ्गानाले बताए ।

चिरायुका अध्यक्ष सरोज महर्जन, कृशाङ्गीका अध्यक्ष केदार अधिकारी, नयाँ पुस्ताका अध्यक्ष शिव प्रसाद कोईराला, नेपालटार सहकारीका अध्यक्ष नारायण प्रसाद पौडेल, सदस्य अरुण रिजाल, गोल्डेन अर्थका सदस्य सुवास अधिकारी, राजकुमार भण्डारी लगायतको उपस्तिथिमा सामाजिक र भौतिक दुरी कायम गर्दै सुरक्षित तवरले लकडाउनको मापदण्ड पालना गरि राहत बितरण गरिएको चिरायुका प्रबन्धक रामलाल महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्