Logo

फेरि राहत र छुटको प्याकेज, कुन क्षेत्रलाई कस्तो लाभ ?



कखरा संवाददाता


१९ बैशाख, काठमाडौं । लकडाउनको अवधि बढ्दै गएपछि सरकारले पुनः राहत तथा छुटका कार्यक्रम अघि सारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटअगावै लिनुपर्ने राहत तथा छुट मन्त्रिपरिषदमा सिफारिस गरेका छन् । यसअघि पनि अर्थमन्त्रीको सिफारिसमा राहतका कार्यक्रम ल्याइएको थियो ।

सरकारले पूर्ण रूपमा बन्द भएका पर्यटन क्षेत्रसँग सम्बन्धित प्रतिष्ठानले आफ्ना कर्मचारीलाई वैशाख महिनाको तलबको ५० प्रतिशत उद्योगले उपलब्ध गराउनुपर्ने र बाकीँ ५० प्रतिशत तलब वा ज्याला भुक्तानी गर्न आवश्यक परे बैंक तथा वित्तीय संस्थाबाट सहलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरिने भएको छ ।

जसका लागि राष्ट्र बैंकबाट पुनर्कर्जा उपलब्ध गराउनुपर्ने सिफारिस अर्थमन्त्रीले गरेका छन् । औपचारिक क्षेत्रमा काम गर्ने मजदुरलाई वैशाखको पारिश्रमिकको ५० प्रतिशत रकम तत्काल दिनुपर्ने र बाँकी ५० प्रतिशत व्यवसाय सुचारु भएपछि क्रमशः भुक्तानी गर्दै जान मिल्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ । तलब खुवाउन उद्योगलाई तरलताको अभाव भएमा बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत दरमा कर्जा उपलब्ध गराउने जनाइएको छ ।

असंगठित श्रमिकले भुक्तानी गर्नुपर्ने १ महिनाको घरभाडा सम्बन्धित घरधनीलाई मिनाहा गर्न गरिएको अनुरोध कार्यान्वयनको अनुगमन गर्ने उल्लेख गरिएको छ । लकडाउनका कारण रोजगारी गुमाएकाबाहेकका श्रमिकलाई लकडाउन अवधिभर घरभाडा माग अहिले नगर्ने तर, लकडाउन सकिएपछि भने भुक्तानी गर्नुपर्ने जनाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले चामल, पिठो, दाल, नुन, चिनी, खाने तेललगायत खाद्य सामग्रीको हाल कायम रहेको मूल्यमा १० प्रतिशत छुट दिई बिक्री वितरण गर्ने व्यवस्थालाई निरन्तरता दिने व्यवस्था गरिएको छ ।

दूरसञ्चार कम्पनी लिमिटेडले लकडाउन अवधिको इन्टरनेट तथा डाटा प्याकेजमा २५ प्रतिशत छुट दिने, नेपाल विद्युत् प्राधिकरणले मासिक १५० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहकको विद्युत् महसुलमा २५ प्रतिशत छुट दिने, मासिक २५० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहकलाई लकडाउनको अवधिभर विद्युत् महसुलमा १५ प्रतिशत छुट दिने, यसअघिको छुट लकडाउन अवधिभर निरन्तरता दिइने उल्लेख गरिएको छ ।

चैतमा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६०७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ताबापतको रकम दाखिला गर्ने म्याद जेठ मसान्तसम्म थप गर्ने प्रस्ताव गरेको छ । फागुन र चैतको बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद २५ जेठसम्म थप गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्