Logo

समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण



कखरा संवाददाता


१८ जेठ, काठमाडौं । कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो । समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन । समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो। त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन् ।

समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन् । कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन । परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ती युवाले क्वारेन्टाइनमा प्राण त्यागेको आफन्तले गुनासो गरेका छन् ।

उनको मृत्यु भएपछि मात्र शनिबार नै स्वाब परीक्षण गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा ललितबहादुर बुढा र हिक्मतबहादुर नेपालीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्