Logo

झापामा एउटै गाउँपालिकामा ७३ कोरोना संक्रमित



कखरा संवाददाता


१६ जेठ, काठमाडौं । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोभिड-१९ का संक्रमित भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकामा भेटिएका हुन् । बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

corona

यसअघि ४८ संक्रमित पुष्टि भई उनीहरूलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।

उनले संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएका छन् । ‘जति पनि सङ्क्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन्’ उनले भने, ‘सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टानमा राख्दा थप समुदाय संक्रमित हुनबाट जोगियो ।’

उनका अनुसार पालिकाभित्रका ६ क्वारेन्टाइनमा राखिएकामध्ये २७६ को स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७३ को रिपोर्ट संक्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिपोर्ट आउन बाँकी रहेको उनको भनाइ छ ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टिन निर्माण गरिएको उनले बताए । क्वारेन्टाइनमा बसेकामध्ये १ सय जनाको स्वाब परीक्षण गर्न अझै बाँकी रहेको उनको भनाइ छ ।

अध्यक्ष आलमले भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४ सय बढी आइसकेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्