Logo

खतिवडाकाे बजेट : पहिलो र दोस्रोमा गाली, तेस्रोमा बज्ला ताली ?



कखरा संवाददाता


१५ जेठ, काठमाडौं । पार्टीभित्र आधा दर्जन नेताको दाबीका बीच राष्ट्रियसभामा मनाेनीत कोटाबाट प्रवेश पाएका डा. युवराज खतिवडाले आफ्नो कार्यकालमा तेस्रो तथा अन्तिम बजेट बिहीबार सदनमा प्रस्तुत गर्दै छन् ।

पहिलो बजेटपछि नै विकल्प खोज्न प्रधानमन्त्रीलाई नेकपा नेताकाे दबाबका बाबजुद खतिवडा ३ वटा बजेट ल्याउन सफल देखिएका छन् ।

यद्यपि, अर्थमन्त्री खतिवडाको कार्यकालमा यो अन्तिम बजेट हुनेछ । राष्ट्रियसभामा उनको कार्यकाल यसअघि नै सकिएको छ । अहिले उनी संविधानको धारा ७८ को उपधारा १ अनुसार मन्त्रीको जिम्मेवारीमा छन् । तर, धारा ७८ को उपधारा २ बमोजिमा ६ महिनाभित्र संघीय संसदको सदस्य हुनु पर्ने छ । धारा ७८ को उपधारा ३ बमोजिम ६ महिना संघीय संसदको सदस्यता प्राप्त नभएमा प्रतिनिधिसभाको कार्यकालभर मन्त्री हुन नपाउने व्यवस्था छ ।

राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत हुने १ सिट खाली नै रहे पनि नेकपाका अन्य नेताहरू खतिवडालाई नै राष्ट्रियसभामा लैजान मानेका छैनन् । प्रधानमन्त्रीले पनि आगामी आर्थिक वर्षको बजेटसम्मका लागि खतिवडालाई   राखिएको बताउने गरेका छन् ।

‘राष्ट्रियसभाको सदस्य बनाउने भए अहिसलेसम्म सिफारिस भइसकेका हुन्थे, यसर्थ खतिवडा ६ महिने कार्यकाल सकिएपछि मन्त्रीबाट बाहिरिनेछन्’, ओलीनिकट एक नेताले भने ।

अर्थमन्त्री खतिवडाले पहिलो बजेट पेस गरेलगत्तै नेकपाकै नेताहरूबाट चर्काे आलोचना खेपेका थिए । खतिवडाले भने पहिलाे बजेट गाली, दोस्रो र तेस्रोमा आधार निर्माण, चौथो र पाँचौ बजेटमा ताली बझ्ने प्रतिक्रिया दिएका थिए ।

त्यति बेला खतिवडाको राष्ट्रियसभाको कार्यकाल तोकिसकिएको थिएन ।  पछि गाेला विधिमा उनकाे भागमा २ वर्षे कार्यकाल परेकाे थियाे । यद्यपि, नेकपाभित्र केही नेताले खतिवडाको विकल्प खोज्न निकै दबाब दिँदै आएका छन् ।

पहिलो कार्यकालको बजेट सांसद विकास कोषको रकम घटाएको, खर्च गर्न समस्या पारेको, सामाजिक सुरक्षा भत्ता वृद्धि नगरेको जस्ता कारणले खतिवडाको आलोचना भएको थियो । खतिवडाको दोस्रो बजेट कार्यान्वयनमुखी नरहेको भन्दै नेकपा नेताहरूले नै टिप्पणी गरेका थिए ।

खतिवडाले दोस्रो पटक अर्थमन्त्रीको सपथ गरेसँगै ‘कमान्डरले नबोलाएसम्म काम गर्ने’ प्रतिक्रिया दिएका थिए । यद्यपि, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै बजेट कार्यान्वयनको लागि भने अर्को मन्त्री आउने नेकपा नेताहरूको दाबी छ । राष्ट्रियसभाको सदस्य सिफारिस नभएमा खतिवडाको मन्त्रीको कार्यकाल भदौसम्म मात्रै रहेको छ ।

अर्थमन्त्री खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको प्रस्तुत गरेका थिए भने चालू आर्थिक वर्षको लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको छ ।

खतिवडाले लिएका दुवै बजेट स्रोत व्यवस्थापन र खर्चको हिसाबले कमजोर देखिएकाे विज्ञहरूले बताउँदै अाएका छन् । पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याउँदा वास्तविक खर्च ११ खर्ब १० अर्ब रुपैयाँ मात्रै भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यस्तै, दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ सार्वजनिक गरेकोमा अधिकतम् १२ खर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

लामो समयदेखि तोकिएको भन्दा बढी राजस्व उठ्ने गरेकोमा खतिवडाले सार्वजनिक गरेका दुवै बजेटमा तोकिएको राजस्व पनि उठ्न सकेको छैन । पहिलो बजेटमा ९ खर्ब ४५ अर्बको राजस्व अनुमान गरिएकोमा ८ खर्ब ५९ अर्ब रुपैयाँको मात्रै राजस्व उठेको थियो ।

दोस्रो बजेटमा ११ खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएकोमा कोभिड-१९ को कारण साढे ७ खर्बभन्दा बढी नउठ्ने देखिएको छ । अर्थमन्त्री खतिवडाले ल्याउन लागेकाे तेस्रो बजेट १६ खर्बमाथिको हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्