Logo

संविधान संशोधन प्रस्ताव हटाइएको विषयमा कांग्रेसलाई जोड्नु निन्दनीयः नेपाली कांग्रेस



कखरा संवाददाता


१५ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको कार्यसूचीबाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाइएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेसले संविधान संशोधनको विषयमा संसदमा रहेका सबै दल एकजुट हुनुपर्नेमा नेपाली कांग्रेसलाई आरोप लगाउने कार्य निन्दनीय भएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

कांग्रेस संसदीय दलको तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संविधान संशोधन जस्तो गम्भीर विषयमा सरकार, प्रतिपक्ष र सदनमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्नतर्फ लाग्नुभन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यसबारे आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।’

‘नेपाली कांग्रेस यस्तो प्रवित्तिको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावना साथ कार्य गर्न सरकारलाई अपिल र आग्रह गर्दछ’, प्रमुख सचेतक खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि विज्ञप्ति जारी गर्दै संसदको कार्यसूचीबाट संशोधन प्रस्ताव हटाइएको विषयमा नेपाली कांग्रेसलाई जोड्नु निन्दनीय र आपत्तिजनक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्