Logo

जब भारतका फुटबल कप्तानलाई नेपाली भनियो



कखरा संवाददाता


७ जेठ, एजेन्सी । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले क्रिकेट टिमका कप्तान विराट कोहलीसँगको इन्स्टाग्राम लाइभ च्याटका दौरान आइतबार रंगभेदको सामना गर्नुपरेको छ ।

कोरोना भाइरस लकडाउनका दौरान इन्स्टाग्राममार्फत ‘इलाभेन अन टेन’ शो सञ्चालन गरिरहेका क्षेत्रीलाई एक प्रयोगकर्ताले लाइभ च्याटमा कमेन्ट गर्दै ‘नेपाली’ भनेका हुन् । ‘याशर्मा अफिसियल’ नामको एकाउन्टबाट प्रयोगकर्ताले लाइभ च्याटमा टिप्पणी गर्दै –‘ये नेपाली कौन है (यी नेपाली को हुन् ?) लेखेका छन् ।

यो स्क्रिनसटलाई ट्वीटमा एक प्रयोगकर्ता ‘अविनभ काका’ ले शेयर गरेका छन् । उनले यस्तो कार्यको भत्र्सना गर्दै लेखेका छन्, ‘भारत एउटा धेरै रंगभेद हुने देश हो । मानिसले क्षेत्रीलाई नचिन्नुसम्म ठिकै छ । तर, समाजले उनीहरुलाई (भारतको उत्तरपूर्वका मानिस) चिनकी (चिनियाँ), नेपाली आदि भन्ने गरेको छ । यो लज्जास्पद छ ।’

यस पोस्टलाई धेरैले रिट्वीट तथा लाइक गरेका छन् । केहीले यसलाई रंगभेदी भन्न नमिल्ने पनि बताएका छन् । यसमा आएका टिप्पणीमा ‘नेपालीलाई नेपाली नभनेर के भन्ने’ भन्दै प्रश्न समेत सोधिएको छ । सुनिलका बाबु भारतीय आर्मीका अवकाशप्राप्त अधिकारी हुन् । सुनिलकी आमा र उनकी बहिनीले नेपालको महिला फुटबल टोलीबाट खेलेका थिए । सुनिलको जन्म भारतमा भएको हो ।

रंगभेद यसअघि नै भारतमा आम समस्या मानिन्थ्यों, कोरोना भाइरसको फैलावटले यसलाई थप बढावा दिएको छ । चीनबाट भाइरस आएकाले उत्तरपूर्वका केही जनता, जसको अनुहार चिनियाँसँग मिल्दोजुल्दो छ, उनीहरुमाथि यस कठिन समयमा आफ्नै देशका अन्य नागरिकले रंगभेदी व्यवहार देखाएका छन् । जब उत्तरपूर्वमा मानिसहरुमाथि यस्तो व्यवहार भएका घटना बाहिरिए, तब सुनिल आफैंले यस्ता कार्यको निन्दा गरेका थिए ।

सुनिलले यस्ता घटनालाई घृणित र लज्जास्पद भनेका छन् । यी फुटबलरले मानिसहरुलाई आफुजस्तै अनुहारका मानिस बस्ने क्षेत्र वा आफ्नै क्षेत्रमा भाइरस उत्पनन भएको कल्पना गर्न पनि भनेका थिए । ‘कल्पना गर्नुस् तपाई अरुणाञ्चल प्रदेश, आसाम वा सिक्किममा काम गर्दै हुनुहुन्छ र मानिसले तपाईलाई खोज्छन्, जिस्क्याउँछन् र चिन्तित पार्छन् वा समस्या सिर्जना गरिदिन्छ । तपाई कस्तो महसुस गर्नुहुन्छ,’ उनले सोधेका थिए ।

प्रतिक्रिया दिनुहोस्