Logo

बोल्दाबोल्दै प्रधानमन्त्रीले भने, ‘मलाई गाह्रो भयो’



कखरा संवाददाता


६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर बोल्न गाह्रो भएको छ । स्वास्थ्यको कारण आफूलाई उठेर बोल्न समस्या भएको जानकारी उनले सभामुखलाई गराएका थिए ।

बोल्दाबोल्दै उनले सभामुखलाई आफूलाई गाह्रो भएको भन्दै बस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका थिए । त्यसलगत्तै सभामुख अग्नि प्रसाद सापकोटाले प्रधानमन्त्रीलाई बस्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

केहीबेरमै महासचिवले रोस्टममै बस्ने व्यवस्था गरेपछि उनले नीति तथा कार्यक्रममा माथि उठेका प्रश्नको जवाफ दिएका थिए । उनी अहिले पनि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रधानमन्त्री ओलीको तीन महिनाअघि दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसअघि उनको एपेन्डिसाइटिसको अपरेसन गरिएको थियो । लगातार स्वास्थ्य समस्या भोग्दै आएका प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको अपरेसन गरेपछि केही गलेका थिए ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले बोल्नुअघि माइक स्यानिटाइज गरिएको थियो । त्यस्तै उनले बोल्ने माइकमाथि रुमाल राखिएको छ । पटक पटक स्वास्थ्यमा समस्या देखिरहने भएकोले पनि संक्रमण नहोस् भन्नको लागि यस्तो सजगता अपनाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्