Logo

सांसदले सिट फेरेर बस्न नपाउने



कखरा संवाददाता


४ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न प्रतिनिधिसभामा सांसदहरुले सिट फेरेर बस्न नपाउने भएका छन् । बैठकको सुरुमा जुन सिटमा बसेको हो अन्त्यसम्म त्यही सिटमा बस्नु पर्ने नियम कार्यव्यवस्था परामर्श समितिले बनाएको हो ।

शुक्रबार सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति कार्यक्रममाथि आइतबार र सोमबार छलफल गर्ने निर्णय गर्दै कार्यव्यवस्था परामर्श समितिले सिट फेरर नबस्न सांसदहरुलाई आग्रह गर्ने निर्णय गरेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।

नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते दिने कार्यतालिका बनाइएको छ । यसअघि सचिवालयले तोकेता गर्दा पनि सांसदहरुले अवज्ञा गरेपछि फेरि ध्यानाकर्षण गराइने भएको हो ।

संसदमा नीति तथा कार्यक्रममाथिको छलफल जतिसक्यो छोटो र छरितो बनाउने, कोरोनाबाट बच्न सावधानीका उपाय अबलम्बन गर्ने निर्णय गरेको छ ।

वैशाख २६ गते सुरु भएको संसदको अधिवेशनमा पर्याप्त मात्रामा सुरक्षा सावधानी अपनाएर संसद बैठक सञ्चालन भइरहेको छ । तर पनि सांसदहरुले सचिवालयले जारी गरेको स्वास्थ्य निर्देशिका नअपनाएको भन्दै यसअघि पनि ताकेता गरेको थियो ।

संसद सचिवालयले सदन वा समितिको बैठकमा आउँदा स्वकीय सचिव र सुरक्षाकर्मी नल्याउन, बैठक कक्ष प्रवेश गर्नुअघि साबुन पानीले हात धुन, बैठकमा छिर्दा र बाहिर निस्कदा छुट्टै प्रवेशद्वारको प्रयोग गर्न, बैठक अवधिभर मेडिकल मास्कको प्रयोग गर्न, लवि र क्यान्टिनमा बस्दा सामाजिक दूरी कायम गर्न, पटक–पटक स्यानिटाइजर प्रयोग गर्न र स्वास्थ्य समस्या देखिएका स्वास्थ्यकर्मीलाई खबर गर्न तोकेता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्