Logo

‘पीके’ अभिनेता साईकाे ४२ वर्षकाे उमेरमा निधन



कखरा संवाददाता


४ जेठ, एजेन्सी । ‘पीके’ र ‘रक अन’ जस्ता हिन्दी फिल्ममा अभिनय गरेका अभिनेता साई गुंडेवरको गएको आइतबार अमेरिकामा निधन भएको छ ।

सन् १९७८ फेब्रुअरी २२ मा जन्मिएका साई गएको एक वर्षदेखि ब्रेन क्यान्सरसँग लडिरहेका थिए । साईको निधनप्रति उनका साथी फिल्म उद्योगका कलाकारहरुले समाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् । महाराष्ट्रका गृह मन्त्री अनिल देशमुखले पनि अभिनेता साईप्रति श्रद्धाञ्जली दिएका छन् ।

महाराष्ट्रको नागपुरमा जन्मिएका अभिनेता तथा मोडल साईले हलिवुडको कैयौँ लोकप्रिय टीभी सिरिज– द ‌ओरभिल स्वाट कैग्नी एण्ड लैसी द मार्स र कन्सपिरेसिज मा काम गरेका छन् ।

अमेरिकामा ग्रीन कार्ड नपाएपछि उनी सन् २००७ मा भारत फर्किएका थिए । एमटीभीको रियालिटी शो एमटीभी स्प्लिट्सभिला मा चौथौ सिजनमा एक प्रतियोगीको रुपमा देखिएपछि साई भारतमा लोकप्रिय भएका थिए ।

हिन्दी सिनेमाले केही दिनअघि मात्र दुई महान् अभिनेता ऋषि कपूर र इरफान खानलाई पनि गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्