Logo

महामारीले निम्त्याउँदै छ गम्भीर मनोसामाजिक समस्याः संयुक्त राष्ट्रसंघ



कखरा संवाददाता


२ जेठ, काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । विशेष गरी धेरै मानिसमा तनावको समस्या देखिन थालेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि विश्वका धेरै देशमा अति न्यून लगानी रहेकाले यो महामारीको असर तीव्र गतिमा फैलिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । कोरोना भाइरस विरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीदेखि रोजगार गुमाएका व्यक्तिहरुमा मानसिक समस्या देखिएको हो ।

यस्तै विश्वका धेरै देशमा बालबालिकालाईहरुको पठनपाठनको व्यवस्था घरमै गर्नु परेको छ, यसले परिवारमा समस्या देखिएको उल्लेख छ । पाको उमेरका व्यक्तिहरुमा एक्लोपन र दुष्चिन्ताको समस्या देखिएको छ । महामारीले धेरै मानिसको मनोसामाजिक स्वास्थ्यमा गम्भीर असर पार्ने क्रम जारी रहेको संयुक्त राष्ट्रसंघको भनाई छ ।

संयुक्त राष्ट्रसंघले बिहीबार जारी गरेको रणनीतिक पत्रमा महामारी विरुद्धको अभियानको क्रममा सबै देशलाई मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था पनि गर्न आग्रह गरेको छ ।

मानिसक स्वास्थ्य राम्रो हुनु सामाजिक व्यवस्था चुस्त रहनका लागि अत्यावश्यक हुने भएकाले भाइरसको महामारी नियन्त्रणमा मात्रै लागेर नपुग्ने राष्ट्रसंघको भनाई छ । शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिएर सेवा प्रदान गर्न अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्