Logo

‘आँगनमा पुग्यौं, घर पस्‍न पाएनौं’



कखरा संवाददाता


१८ बैशाख, काठमाडौं । लकडाउन र सीमा सिल भएपछि नेपाल–भारत सीमा नाकामा आइपुगेका नेपालीहरू सीमापारि नै क्वारेन्टाइनमा बसेको एक महिनाभन्दा बढी भइसकेको छ । कञ्चनपुर, बैतडी र दार्चुला सीमापारि भारतीय क्वारेन्टाइनमा महिना दिनभन्दा बढी समय बिताइसक्दा पनि उनीहरू घर फर्कन पाएका छैनन् ।

लकडाउनपछि पनि मुलुकका विभिन्न सीमाबाट हजारौं कामदार स्वदेश भित्रिए । तर, सुदूरपश्चिमको दार्चुला, बैतडी र कञ्चनपुरका डेढ हजारभन्दा बढी सीमापारि नै अलपत्र परे । भारतीय क्वारेन्टाइनमा बसिरहेका उनीहरू घर फर्कने टुंगो नहुँदा चिन्तित बनेका छन् । कञ्चनपुरसँग जोडिएका भारतीय क्षेत्र चम्पावत, टनकपुर, बनवासा र खटिमामा २ सय ५१ जना, बैतडीको सीमापारि झुलाघाटमा २ सय ४९ र दार्चुलापारिको धार्चुलामा १ हजार ५६ गरी १ हजार ५ सय ५१ नेपाली कामदार भारतीय क्वारेन्टाइनमा छन् ।

गृहको निर्देशनको पर्खाइ
सीमावर्ती क्वारेन्टाइनमा रहेकालाई स्वदेश फर्काउन पहल गरे पनि गृह मन्त्रालयको आदेश नआएका कारण प्रक्रियाअघि नबढेको स्थानीय प्रशासनको भनाइ छ । कञ्चनपुर प्रशासनले भारतीय सीमा क्षेत्रमा रहेका २ सय ५१ नेपालीलाई गत शनिबार ल्याउने तयारी गरे पनि गृहबाट स्वीकृति नआउँदा प्रक्रियाले गति नपाएको सहायक प्रमुख जिल्ला अधिकरी गोकर्णप्रसाद उपाध्यायले बताए । उनीहरूलाई भित्र्याउनका लागि दुई साताअघि नै मन्त्रालयमा पत्राचार गरिएको उनले बताए ।

‘हामीले मात्रै चाहेर ल्याउन सकिने अवस्था छैन । मन्त्रालयमा यसबारे जानकारी गराएका छौं,’ उपाध्यायले भने, ‘मन्त्रालयबाटै पहल भएमात्रै ल्याउन सकिन्छ ।’ उनका अनुसार जिल्ला प्रशासन कार्यालयले नेपाली राखिएका क्वारेन्टाइनमा अनुगमन पनि गरेको छ । आदेश आउनेबित्तिकै उनीहरूलाई स्वदेश फर्काउन आफूहरू तयारी अवस्थामा रहेको उनले जनाए ।

सीमापारि रोकिएकालाई स्वदेश ल्याउनेबारे कुराकानी भइरहे पनि दुवै मुलुकको केन्द्रीय सरकारले अनुमति नदिएसम्म ल्याउन नसकिने दार्चुलाका प्रजिअ यदुनाथ पौडेलले स्पष्ट पारे । यसबारे भारतीय अधिकारीसँग पनि कुरा भइरहेको पौडेलको भनाइ छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्