Logo

वामदेवको संसद् यात्रा: सबैभन्दा धेरैपटक प्रदर्शन भएको फ्लप नाटक



कखरा संवाददाता


१८ बैशाख, काठमाडौं । गत संसदीय निर्वाचनमा जनमतबाट पराजित वामदेव गौतम संसद् छिर्ने विषय नेपाली राजनीतिमा सबैभन्दा धेरैपटक दोहोरिएको ‘नाटक’ हो, तर नाटकमा नयाँनयाँ शृंखला आउने क्रम रोकिएको छैन ।

नेकपा उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभाको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडाउने वा राष्ट्रिय सभामा सदस्य पनि प्रधानमन्त्री बन्ने गरी संशोधन गरेर प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव छ । तर, गौतम संसद् सदस्य बन्ने विषयका नयाँ–नयाँ आयाम पटक–पटक दुर्घटनामा पर्दै आएका छन् ।

संसदीय निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियाबाट पराजित गौतमले विपक्षीलाई होइन, पार्टी अध्यक्ष ओली र उनको समूहलाई दोष दिएका थिए । बर्दियाका पार्टी नेता श्याम ढकाललाई कारबाही गराउन उनले प्रयास पनि गरेका थिए । तर, ढकाललाई कारबाही गर्न ओलीले नमानेपछि गौतम आक्रोशित भएका थिए ।

त्यहीबीचमा सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर डोल्पाबाट चुनाव लड्न गौतमले निकै कोसिस गरेका थिए । गौतमकै पहलमा पर्यटन राज्यमन्त्री भएका बुढाले राजीनामा दिने वचन पनि दिएका थिए । तर, जनता सम्झाएर आउँछु भन्दै डोल्पा गएका बुढा जनताले मान्दै मानेनन् भन्ने सन्देश बोकेर आएपछि गौतम आश्चर्यचकित भएका थिए ।

पछि दैलेख, बाँके र नवलपरासीका सांसदलाई राजीनामा गर्न लगाई चुनाव लड्ने तयारी गौतमले गरेका थिए । तर, उनीहरूले राजीनामा दिएनन् । बरु, काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्दै सांसद पदबाट राजीनामा दिएका थिए । तर, प्रधानन्त्री ओलीलाई समेत थाहा नदिई राजीनामा आएको भन्दै ओली रिसाए । त्यति मात्र होइन, जननिर्वाचित सांसदलाई राजीनामा दिन लगाएर संसद् छिर्न खोजेको भन्दै गौतमको सार्वजनिक आलोचना भएको थियो । काठमाडौं–७ का पार्टी नेताहरूले नै उपनिर्वाचन भए जिताउन गाह्रो हुने सन्देश दिएपछि गौतम पछि हटेका थिए । तर, गौतमलाई लगाएको त्यही गुनबापत रामवीर अहिले सहरी विकास राज्यमन्त्री छन् । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्