Logo

कोरोना संक्रमितको संख्या ५७ पुग्यो



कखरा संवाददाता


१८ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार तीन नयाँ संक्रमित थपिएका हुन् । उनीहरू बारा र पर्सा जिल्लाका हुन् । एक महिनाअघि भारतबाट आएका पर्साका ४६ वर्षीय पुरुष र बाराका ३१ र ४३ वर्षीय पुरुषमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पिसिआर विधिबाट परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको हो । उनीहरू सिमरा क्वारेन्टाइनमा बसेका थिए । संक्रमितहरूको नारायणी अस्पताल वीरगन्जमा उपचार सुरु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेमा १० महिला र ४७ पुरुष छन् । त्यसमा ११ देखि २० वर्ष उमेर समूहका आठ, २१ देखि ३० का १४, ३१ देखि ४० का १२, ४१ देखि ५० का नौ, ५१ देखि ६० का सात, ६१ देखि ७० का पाँच, ७१ देखि ८० का एक र ८१ वर्षमाथिका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर, सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कोरोनाको संक्रमण प्रत्येक दिन बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले नआत्तिन आमनागरिकलाई आग्रह गरेको छ । समाज तथा घरधनीको डरले मानिस कोभिड परीक्षण गराउन नआएको भन्दै मन्त्रालयले डरबाट मुक्त हुन सबैलाई आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा कोरोना पोजेटिभ देखिएपछि समाजले विभेदपूर्ण व्यवहार गर्ने मनोविज्ञानकै कारण विदेशबाट आउनेहरू परीक्षण गर्न नआएको हुन सक्ने बताए । समयमै परीक्षण नगराएमा आफू, परिवार र सिंगो समाजमा जोखिम बढ्ने बताउँदै उनले संक्रमित हुँदैमा नआत्तिन सल्लाह दिए ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार एक सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ११ हजार पाँच सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीमार्फत परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले बताए । उनका अनुसार प्रदेश १ मा चार हजार आठ सय ८१, प्रदेश २ मा पाँच हजार दुई सय ९८, बागमती प्रदेशमा आठ हजार दुई सय १७, गण्डकी प्रदेशमा पाँच हजार तीन सय ४३, प्रदेश ५ मा तीन हजार ६ सय ७१, कर्णाली प्रदेशमा पाँच हजार दुई सय ६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार नौ सय ८६ जनाको आरडिटीबाट परीक्षण भएको छ । कोरोनाको आशंकामा हाल मुलुकभर ८७ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्