Logo

अस्थिरताविरुद्ध संगठित हुन सांसदहरूलाई ओलीको आग्रह



कखरा संवाददाता


१७ बैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले जनमतविपरीत मुलुकलाई अस्थिरतातर्फ लैजाने चलखेल भएको भन्दै त्यसविरुद्ध संगठित हुन सांसदहरूलाई आग्रह गरेका छन् । पार्टीका दुई दर्जन सांसदहरूसँग मंगलबारको भेटमा उनले पार्टी एकता बिथोल्ने प्रयास भएको बताए ।

‘राष्ट्र, राष्ट्रिय एकता, सामाजिक सद्भाव बिथोल्न खोज्नेहरूले मुलुकमा राजनीतिक अस्थिरता ल्याउन खोजिरहन्छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सांसद खगराज अधिकारीले भने, ‘यतिवेला अस्थिरताका विरुद्ध जुध्नुपर्ने वेला पार्टी एकतालाई नै कमजोर बनाउने प्रयास भइरहेको छ, तपाईंहरू त्यस्तो चलखेल र षड्यन्त्रविरुद्ध एकताका साथ उभिनुहोस् ।’

समाजवाद हुँदै अघि बढ्ने उद्देश्यसहित पार्टी एकता भए पनि टुट–फुटका लागि भइरहेको चलखेलप्रति सचेत बन्न सांसदहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले पार्टी र मुलुकलाई एकताबद्ध बनाएर अघि बढाउन आफूले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको अर्का सांसद पदम गिरीले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाएर पनि नेकपाभित्रको पछिल्लो विवाद समाधान खोज्ने विकल्पको चर्चा चलिरहेको प्रसंगमा सांसद अधिकारीले भने, ‘अध्यक्षको विकल्प खोज्दा हुन्छ । तर, जसलाई बनाउने हो उसलाई महाधिवेशनबाट बनाउँदा हुन्छ । महाधिवेशनबाट निर्वाचित अध्यक्षले नै पार्टी एकीकरण गरेका कारण उहाँले नै महाधिवेशनसम्म नेतृत्व गर्ने हो, उहाँ नेतृत्वमै नरहे पनि पार्टी एकतालाई निरन्तरता दिनुपर्छ भन्ने हो भने त्यस्तो एकताको कुनै अर्थ हुनेछैन,’ सांसद अधिकारीले भने । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्