Logo

यी हुन् लकडाउनमा तपाईंले पाउने बैंकिङ सुविधा



कखरा संवाददाता


१६ बैशाख, काठमाडौं । सरकारले किस्ता ढिलो तिर्न सक्ने व्यवस्था गरिसकेको छ । अर्थात् तपाईंले चैत, वैशाख र जेठ महिनाको किस्ता असार अन्तिमसम्म सुस्तरी तिर्न सक्नुहुनेछ । त्यसमा जरिमाना पनि लाग्दैन । त्यति मात्र होइन, पैसा घरमा छ किस्ता तिर्न पाए ढुक्क हुन्थ्यो भन्ने लाग्छ भने विभिन्न अनलाइन एपहरू, जस्तै: आईपीएस कनेक्ट, ईसेवा जस्ता मोबाइल बैंकिङमार्फत् तिर्न सक्नुहुनेछ ।

यसरी समयमै किस्ता तिर्दा तपाईंले १० प्रतिशतसम्म छुट पाउनुहुन्छ । उदाहरणका लागि तपाईंले मासिक २० हजार रुपैयाँ किस्ता तिर्दै आउनुभएको छ भने अब तिर्दा तपाईंले २ हजार छुट पाउनुहुन्छ । यानिकी तपाईंले अन्य समयको भन्दा २ हजार रुपैयाँ कम पैसा तिर्नुहुनेछ । त्यति मात्र होइन, तपाईं व्यवसायी हुनुहुन्छ र लकडाउनले व्यवसाय ठप्प भयो । बैंकबाट कर्जा लिनुभएको छ, अब कसरी तिर्ने सोच्दै हुनुहुन्छ भने राष्ट्र बैंकले पुनर्कर्जाको व्यवस्था पनि गरेको छ ।

राष्ट्र बैंकले हिजो मात्र साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनर्कर्जा सहज ढंगले प्रवाह गर्न पुनर्कर्जा कार्यविधिमा संशोधन गरिने जनाएको छ । साथै, ६० अर्ब रुपैयाँको विद्यमान पुनर्कर्जा कोषलाई आवश्यकताअनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाइने उल्लेख गरेको छ ।

त्यस्तै, कोरोना प्रभावित क्षेत्र जस्तै: हाललाई उदयपुर र अब हुन सक्ने जोखिमपूर्ण क्षेत्रका वासिन्दालाई सहुलियतपूर्ण कर्जाको व्यवस्थाका लागि गृहकार्य थालिसकेको छ । यसअन्तर्गत त्यस्ता कोरोना प्रभावित क्षेत्रमा प्रवाह भएका कर्जाहरूलाई पुनतार्लिकीकरण तथा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्ने भएको छ ।

त्यसमाथि पनि तपाईंले खाद्ययवस्तु, औषधि जस्ता अत्यावश्यक वस्तुहरूको बिक्री, वितरण गरिरहनुभएको छ भने लकडाउनमा पनि तपाईंले सस्तो दरमा कर्जा लिन पाउनुहुनेछ, त्यो पनि ५ दिनभित्रै । यो एउटा बैंकमा मात्र नभएर सबै वाणिज्य बैंकहरूबाट लिन सक्नुहुनेछ । यसरी लिँदा अन्य कर्जाको ब्याजभन्दा सस्तो दरमा लिन सकिनेछ ।

त्यस्तै, लकडाउनलाई नै लक्षित गर्दै तपाईंले जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम मेसिनबाट तपाईंले पैसा निकाल्न सक्नुहुनेछ । यसमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको छ । अर्थात् तपाईंले जुनसुकै बैंकको एटीएम मेसिन प्रयोग गर्दा शुल्कबापत १ सय रुपैयाँसम्म तिर्नुपर्थ्यो भने अहिले सो शुल्क तिर्नुपर्दैन ।

त्यस्तै, बीमातर्फ पनि विभिन्न योजनाहरू सार्वजनिक भइसकेको छन् । विश्वमै पहिलो पटक नेपाली बीमा कम्पनीहरूले कोरोना बीमा पनि सञ्चालनमा ल्याएका छन् । यसले कोरोना बीमा पनि गर्न सक्नुहुनेछ । अहिले कोरोनको संक्रमणको जोखिमले नयाँ बीमा गर्न नसके पनि तपाईंले बीमाबापतको भुक्तानी दाबी गर्न सक्नुहुनेछ । अनलाइनबाट बीमा दाबी गरेमा तुरुन्तै भुत्तानी हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं बताउँछन् । चपागाईंका अनुसार बीमा दाबी पनि घरमै बसेर अनलाइनबाट गर्न सकिनेछ ।

यी त भए बैंक तथा वित्तीय संस्थाबाट लागू भइसकेका सहुलियतपूर्ण योजनाहरू । तीबाहेक विभिन्न व्यावसायिक सङ्गठनहरूले २ वर्षका लागि नबढ्ने गरी कर्जाको ब्याजदर ५ प्रतिशतमा पुर्‍याउनुपर्ने, लकडाउनको अवधिभर बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यावसायिक कर्जाअन्तर्गतका ब्याज मिनाहा हुनुपर्नेजस्ता राहतको प्याकेज ल्याउन राष्ट्र बैंकलाई दबाब दिइरहेका छन् ।

त्यसैले लकडाउनले व्यवसाय चौपट पार्‍यो, कर्जा तिर्न सकिनँ, धितोे लीलाम हुने हो कि, जरिमाना लाग्ला कि भन्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्ताबाट मुक्त हुनुहोस् र लकडाउनमा नयाँ के गर्न सकिन्छ, त्यसतर्फ लाग्नुहोस् । सरकारले राहत प्याकेज ल्याइरहेको छ । त्यसैले तनावमा हुनुपर्ने अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस्