Logo

थप दुईजनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो



कखरा संवाददाता


१४ बैशाख, काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा थप दुईजनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय दुई पुरुषहरुमा संक्रमण पुष्टि भएको जानकारी दिए । उनीहरु दुबैजना पर्सा जिल्लाको वीरगञ्जका स्थानीय हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।

उनीहरु दुवैजनालाई आइसोलेसनमा राखिसकिएको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार नै वीरगंजको नारायणी अस्पतालमा कोरोनाभाइरस संक्रमित ४ जना डिस्चार्ज गर्ने तयारी भइरहेको छ । उनीहरुको स्वाब लिएर गरिएको परीक्षणमा तेश्रो र चौथो पिसिआर रिपोर्ट नेगेटिभ आएसँगै डिस्चार्जको तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मन्त्रालयले भने अस्पतालबाट डिस्चार्ज हुनेबारे केही पनि जानकारी गराएको छैन । नेपालमा अहिलेसम्म १२ जना उपचारपछि घर फर्किसकेका छन् । वीरगंजको ४ जनलाई डिस्चार्ज गरिएसँगै यो संख्या १६ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्