Logo

प्रचण्डसँगको भेटपछि ओली अध्यादेश फिर्ता तयार



कखरा संवाददाता


११ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिन सकारात्मक भएका छन् । बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहासँगको भेटमा उनले अध्यादेशले नकारात्मक विवाद सिर्जना गरेको भन्दै आफू फिर्ता लिन तयार भएको नेकपा उच्च स्रोतले बतायो ।

हिजोदेखि सुरु भएको दुई अध्यक्षको सांसदहरुसँगको छलफल पनि स्थगित गरिएको छ । प्रधानमन्त्रीले पार्टीका शीर्ष नेता र निकट कानुन व्यवसायीहरुसँग यस विषयमा छलफल पनि थालेका छन् । बिहीबार बिहानै उनले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेट गरेका छन् । संभवतः आजै साँझसम्ममा अध्यादेश फिर्ता हुनसक्ने नेकपाका एक नेताले बताए ।

संविधानको धारा ११४ को उपधारा २ (ख)मा सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्न सक्ने व्यवस्था छ । राष्ट्रपति कार्यालयले पनि बिहीबार नै केही कानुन व्यवसायीलाई अध्यादेश फिर्ता लिने बारे छलफल गरेको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ‌ओलीले अन्य दल फुटाउनका लागि अध्यादेश ल्याएको बताएका थिए । अध्यादेश लगत्तै समाजवादी र राजपाबीच बुधबार एकता भइसकेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधनगर्ने अध्यादेश जारी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्