Logo

ऋणीहरुका लागि राहत प्याकेज घोषणाको तयारी



कखरा संवाददाता


१० बैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संगठनले ऋणीलाई बम्पर प्याकेज ल्याउने भएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले उद्योग व्यवसाय तथा ऋणीहरुलाई डुब्न नदिन सञ्चालकहरुको तर्फबाट राहत प्याकेज ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उनले भने, ‘कोरोना भाइरसका कारणले विश्वको अर्थतन्त्र ठप्प भएको छ । उद्योगी तथा व्यवसायीहरुले आफ्नो काम संचालन गर्न पाएका छैनन्। कसरी ऋण तथा ब्याज तिर्ने त्यसैले आज यसै विषयमा छलफल गरिरहेका छौँ ।’

सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि लकडाउन गरेको छ । जसका कारणले शैक्षिक संस्था, व्यापार व्यवसाय, उद्योग कलकारखाना, कृषिलगायतका सबै क्षेत्र ठप्प छन्। विश्व अर्थतन्त्र नै थप्प छ । यस्तै उनले राहत प्याकेजका सम्बन्धमा आइतबार परिसंघको बैठक बसेको बताए । । उक्त बैठकमा उपस्थित भएका विभिन्न बैंकका अध्यक्षहरुले फरक–फरक किसिमको राहत प्याकेज ल्याउनुपर्ने प्रस्ताव राखेका उनले बताए ।

ब्याजमा छुट, ब्याजदर घटाउने, साना तथा मझौला र कृषि उद्योगलाई अघि बढाउन विभिन्न प्याकेजहरु ल्याउनुपर्ने प्रस्तावहरु आएको र त्यसबारे छलफल भइरहेको उनले बताए । उनका अनुसार परिसंघले १ करोड रुपैयाँसम्म जुनसुकै प्रकारको ऋण लिनेलाई पनि कम्तिमा ६ महिनासम्म ब्याजदरमा १० प्रतिशत छुट दिने तयारीका साथ छलफल अघि बढेको छ ।

उनले विदेशबाट फर्केर आउनेहरुलाई सहुलियतपूर्ण कर्जा दिने र साना उद्योगहरुमा लाग्न प्रोत्साहित गर्ने आफूहरुको उद्देश्य रहेको जानकारी दिए । यसैगरी उनले अहिलेको अवस्थामा पहिले भन्दा निकै गम्भीर भएर सोच्नु पर्ने तथा काम गर्नु पर्ने अवस्थाको सिर्जना भएको बताए ।अहिलेको अवस्थालाई मधयनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरुले निकै विचार गरेर खर्च गर्नु पर्ने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्