Logo

व्यक्तिवाद, संकीर्ण स्वार्थबाट माथि उठ्न नेता नेपालको आग्रह



कखरा संवाददाता


१० बैशाख, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेताहरुलाई व्यक्तिवाद, संकीर्ण स्वार्थ र व्यक्तिगत आग्रह र अह्मबाट माथि उठ्न आग्रह गरेका छन् । ७१ औँ कम्युनिष्ट पार्टी स्थापना दिवको अवसरमा शुभकामना दिँदै नेता नेपालले पार्टी एकतालाई मुर्तरुप दिन र जनताप्रतिको जिम्मेवारी नभुल्न आग्रह गरेका हुन् ।

मुलुक चुनौतीपूर्ण अवस्थामा रहेका बेला नेपालमा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको उल्लेख गर्दै उनले संविधान जारी भएपछि पाएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पुरा गर्नका लागि प्रयोग गर्न सुझाव दिए । मंगलबार सरकारले जारी गरेको दुईवटा अध्यादेशले आशंका जन्माएको भन्दै उनले पार्टीलाई भावनात्मक रुपमा एक बनाउनु अहिलको आवश्यकता भएको औंल्याए ।

नेता नेपालले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘हाल विकसित कतिपय घटना क्रमले पार्टीभित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ । यस्तो अवस्थामा हामीले सिंगो पार्टी पंक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ । पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथअघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न पनि म सबैलाई आग्रह गर्दछु ।’

उनले पार्टी एकताप्रति संवेदनशील हुनसमेत सुझाव दिएका छन्। ‘चुनौतीपूर्ण घडीमा म सबै नेता–कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्दै पार्टी काममा क्रियाशील रहन आव्हान गर्दछु, नेता नेपालले भनेका छन् । नेपालले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीको ध्यान अन्यत्रभन्दा संक्रमणका बिरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्