Logo

प्रदेश–१ को नामाकरणको विषय टुङ्गिएन



कखरा संवाददाता


५ चैत, काठमाडौं । प्रदेश एकको नामाकरणको विषय यस पटकको हिउँदे अधिवेशनबाट समेत नटुङ्गिने भएको छ । बुधबार प्रदेशसभाको पाँचौ अधिवेशन अन्त्य गर्न दलहरुबीच सहमति बनेसँगै नामाकरणको विषय थाति रहने भएको हो ।

अधिवेशन अन्त्यका लागि सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकले हिउँदे अधिवेशन अन्त्य गर्न सरकारलाई सुझाव दिएको छ । समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित बैठक रोकिएको थियो ।

समितिको छलफलपछि समाजवादी पार्टी नेपाल प्रदेश एकका संसदिय दलका नेता जयराम यादवले अधिवेशन समापनको लागि प्रदेश सरकारलाई सुझाव दिएको जानकारी दिए ।

चैत्रमा अधिवेशन सकिए पनि कोरोना भाइरसका कारण बैठक नियमित हुन नसक्दा पाँचौ अधिवेशन अन्त्यका लागि दलहरुबीच सहमति बनेको उनले बताए । यसपछि अब बजेट सत्र सुरु हुने भएपनि अहिले तत्काल प्रदेशसभा अवरुद्ध नै रहेका कारण प्रभावित हुनसक्ने उनले बताए ।

यसबीच माघ २१ गतेबाट सुरु भएको अधिवेशनका क्रममा ६ पटक बैठक बसेको थियो। यसबीचमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४ वटा विधेयकमाथि छलफल र दर्ता भएका थिए ।

त्यसैगरि सामाजिक विकास मन्त्रालयको प्रदेश एक बालबालिकाको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता छ भने जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलको अवस्थामा रहेको छ।

प्रदेशसभा सचिवालयका प्रवक्ता राजाराम दाहालका अनुसार समितिको छलफलमा मुख्यमन्त्री एवं नेकपाको संसदीय दलका नेता राईसँगै आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, उपसभामुख सरस्वती पोखरेल, नेपाल कांग्रेस संसदीय दलको नेता राजीव कोइराला, समाजवादी पार्टी नेपालका सांसद जयराम यादव , संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च सांसद विष्णु तुम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्