Logo

देशभर १० स्थानबाट कोरोना भाइरसको नमुना परीक्षण



कखरा संवाददाता


२५ चैत, काठमाडौं । सरकारले देशभर विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण गर्न थालेको छ ।

काठमाडौं र धरानबाट केही अगाडिबाटै कोरोना भाइरस नमुना परीक्षण गरिरहेको सरकारले अहिले हेटौँडा, पोखरा, बुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवाबाट पनि नमुना परीक्षण सुरु गरेको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाडौं उपत्यकामा १२ सहित देशभर एक सय सातजना आइसोलेसनमा रहेका छन् । त्यसैगरी देशभर नौ हजार एक सय ६८ जना क्वारेन्टाइनमा रहेको पनि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौतासमेत भएको छ । राष्ट्रिय एम्बुलेन्स सेवाका पाँच, मन्त्रालयका चार र महानगरकाे एकसहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् ।

यसैबीच, नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पतालको अनुगमन गरेको छ । वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाडौं मेडिकल कलेजमा अनुगमन गरिएको हो । कोरोना भाइरससँग सम्बन्धित सेवाहरू र जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताए ।

सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालयअन्तर्गत ११औँ तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिएको छ । प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र बुझाउन निर्देशन दिइएको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्