Logo

लकडाउनको अवधि ८ दिन थप



कखरा संवाददाता


२५ चैत, काठमाडौं । सरकारले लकडाउनको अवधि ८ दिन थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ देखि १८ गतेसम्मका लागि पहिलो पटक लकडाउन घोषणा गरेको थियो । त्यसपछि चैत १६ गते बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेसम्मका लागि लकडाउनको अवधि लम्ब्याएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलिने जोखिम कायमै रहेपछि सरकारले लकडाउनको अवधि फेरि थप गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय उडान बैशाख ३ गतेसम्म स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ । यसैबीच, सरकारले निजी अस्पतालका चिकित्सकलाई सरकारी अस्पतालमा आएर काम गर्न अफर गरेको छ । मन्त्री परिषद बैठकले निजी क्षेत्रका चिकित्सकले काम गर्न चाहेमा सरकारी अस्पतालमा अवसर दिने निर्णय गरेको हो ।

यसरी आउने चिकित्सकलाई सरकारी चिकित्सकसरह सेवा सुविधा उपलब्ध गराइने सरकारका प्रवक्ता डाक्टर खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार निजी अस्पतालमै बसेर पनि कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सकलाई दिइने भत्ता पनि सरकारले व्यहोर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्