Logo

बुधबारका दुई समाचारः ८ घण्टा हिँडेर परीक्षाकेन्द्र र एसईई स्थगित



कखरा संवाददाता


६ चैत, काठमाडौं । बुधबारका नेपाली सञ्चारमाध्यममा दुई समाचार आयो । देशको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले म्याग्दीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन ८ घण्टा हिउँको बाटो हिँडेर परीक्षा केन्द्र पुगेको समाचार प्रकाशन गर्यो ।

समाचारमा धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा पुग्न हिउँको यात्रा छिचोलेको प्रसङ्ग थियो । हेम मावि सिवाङको परीक्षा केन्द्रमा सहभागी हुनका लागि विद्यालयका २३ विद्यार्थी र शिक्षकसहितको टोली हिउँले ढाकिएको बाटो छिचोलेर पुगे । तीन दिनअघि परेको बेमौसमी हिमपातले बाटो पुरिएको र हिमपातसँगै जङ्गलमा गएको पहिरोका कारण कष्टकर तवरले यात्रा गरी परीक्षा केन्द्रमा पुगे ।

तर सोही समाचार प्रकाशित भएको केही घण्टापछि सिंहदरबारबाट सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गर्यो । राष्ट्रिय मिडियादेखि एवं गाउँगाउँका रेडियोहरुले पनि उक्त समाचार प्राथमिकताका साथ फुके । सामाजिक सञ्जालमा परीक्षा स्थगित भएको कुरा यति भाइरल बन्यो की खोल्नेबित्तिकै परीक्षाको मात्र कुरा थियो । सरकारले कोरोनाभाइरसको संक्रमणबाट जोगिनको लागि भन्दै सतर्कता अनपाइरहँदा यस्ता निर्णयहरु केहीदिन अघि गर्दा गाउँगाउँमा बस्ने बालबालिकाहरुले दुःख पाउने थिएनन् ।

शहर र सुविधासम्पन्न स्थानमा बस्नेहरुको लागि यस्ता निर्णयले खासै फरक नपार्ला तर ग्रामिण भेगमा बस्ने बालबालिका र अभिभावनहरुलाई भने यसले गम्भीर असर पार्छ–पार्छ । कतिपय अभिभावकहरुल परीक्षा केन्द्र आफ्नो घरपायक नभएपछि छोराछोरीको परीक्षाका लागि भन्दै १५ दिनको लागि कोठा भाडामा लिएर राखिसकेका हुन्छन् । यस्तो अवस्थामा छोराछोरीको परीक्षाको लागि समय र पैसा खर्चने अभिभावकको पीडा भने अर्कै छ । विद्यार्थीहरुको तयारीमा त सरकारी निर्णयले असर त गरेको छ नै सँगै परीक्षा कहिले हुने भन्ने अन्यौलताले अबको तयारीमा पनि असर परेको छ ।

बुधबार दिउँसो सरकारले एसईई परीक्षा निगरानीको साथ सञ्चालन हुने निर्णय गरेको थियो भने केहीबेरपछि बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुझावपछि सरकारले एसईई सहित चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । सरकारले यस्ता निर्णयहरु गर्दा निर्णयबाट प्रभावितलाई पनि मध्यनजरमा राख्नुपर्ने देखिन्छ । त्यसरी निर्णय गर्दा प्रभावितहरुले पनि सरकारी निर्णयको स्वागत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्