Logo

उपसभामुखको पनि टुंगो छैन



कखरा संवाददाता


४ चैत, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) तत्काल संसदको एजेण्डा नबन्ने संकेत गरेका छन् ।

एमसीसी सम्झौता असार २०७७ सम्म संसदबाट अनुमोदन गरिसक्नुपर्छ । तर यसबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै विवाद छ । वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा कार्यदलले एमसीसी सम्झौता संशोधन भएपछि संसदबाट अनुमोदन गर्न सकिने प्रारम्भिक प्रतिवेदन बुझाए पनि नेकपाले निर्णय गर्न सकेको छैन ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले एमसीसी बहसमै रहेको बताए । ‘सत्तारुढ पार्टीमा छलफल भइरहेको छ । सत्तारुढ, प्रतिपक्षी सबैले सहमति गरेर आएपछि एजेण्डा बनाउने मैले सहजीकरण गर्ने मात्र हो,’ उनले भने ।

उपसभामुखको पनि टुंगो छैन
संसदमा उपसभामुख पद पनि रिक्त छ । सभामुख सत्तारुढ नेकपाबाट भएकाले उपसभामुख अर्को पार्टीले पाउनेछ ।

तर संसदमा बहुमत भएको नेकपाले उपसभामुख कुन पार्टीलाई दिने भन्ने निर्णय गरेको छ । नेकपाले कसलाई उपसभामुख बनाउने भन्ने टुंगो लगाएपछि मात्र निर्वाचन प्रक्रिया अगाडि बढ्ने सभामुख सापकोटाले जानकारी दिए ।

‘मैले नेकपाको संसदीय दलको उपनेतासँग कुरा गरेको छु । उहाँले नेकपाले नै यो विषय टुङ्ग्याउनुपर्छ भन्नुभएको छ । नेकपाले टुङ्ग्याएपछि अगाडि बढ्छ,’ सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्