Logo

सांसदलाई कोरोनाको त्रास, ‘ट्रम्पले बन्देज लगाइसके, संसद र स्कुल बन्द गरौँ’



कखरा संवाददाता


३० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना संक्रमणबाट विश्वनै त्रसित भईरहेकाले संक्रमणको जोखिम न्यूनीकरणका लागि तत्काल सर्तकता अपनाउ सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको विहिबारको बैठकको शुन्य समयमा बोल्दै सांसद प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसलाई प्याण्डेमिक भनेर घोषणा गरिसकेको र प्याण्डेमिक प्रकृति भनेको विश्वभर एकसाथ फैलने रोग भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि युरोपका सबै उडानलाई रोक लगाईसकेकाले नेपालले पनि यसतर्फ थप सर्तकता अपनाउनुपर्ने आवश्यकता औँल्याए । सरकारले अहिले पनि संसदलाई निरन्तर चलाईराख्न नहुने तर्क उनले गरे ।

त्यसैगरी ठूलो भीड जम्मा हुने स्थानहरुलाई तत्काल बन्द गर्न पनि उनको सुझाव छ । समयमै सर्तकता अपनाउन नसके मुलुकले ठूलो मानविय क्षति व्यहोर्नुपर्ने भन्दै उनले यस तर्फ समयमै सचेत हुन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘जहाँ भीडभाड हुन्छ, जहाजमा, स्कुलमा, बसमा, जहा मास ग्यादरिङ हुन्छ त्यो ठाउँमा संक्रमण हुन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा सरकारले तुरुन्तै बन्देज लगाउनुपर्यो ।’

उनले थपे, ‘स्कुलहरु बन्द गर्नुपर्यो । यदि हामीकहाँ यो संक्रमण रोगले भ्यायो भने हामी संग केही पनि पुर्वाधार छैन रोक्नलाई । अमेरिका त्रसित छन् । युरोप त्रसित छन् । नेपालसंग केही पनि छैन । सरकार के हेरेर बसेको छ ? त्यसैले सरकारले चाँडो भन्दा चाँडो एक्सनमा आएर संसद पनि बन्द गर्नुपर्यो । र तमाम स्कुलहरु जहा मास ग्यादरिङ्ग हुन्छ । त्यो ठाउँ रोक्न सकेन भने यसबाट आउने भयावह स्थिति नेपालले रोक्न सक्दैन । धेरै मान्छेको मृत्यु हुन सक्ने संभावना छ ।’

अर्का सांसद भरत कुमार शाहले कोरोनाको संक्रमणको जोखिम बढीरहेका बेला संसद बैठक संञ्चालन भईरहेको भन्दै बैठक स्थगित गर्न सभामुखको ध्यानाकर्षण गराए । सांसद रामबहादुर विष्टले विश्व स्वाथ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अत्याधिक जोखिममा रहेको भनेको स्मरण गराउँदै आवश्यक सर्तकता अपनाउन सरकारको ध्यानाकर्षण गराए । उनुभयो । कोरोना संक्रमणको त्रास संगै बजारमा औषधि, मास्क लगायत, दैनिक उपभोग्य सामान पाउन छोडेएको भन्दै उनले भने, ‘एक लाख मास्क चाईना पठाउन हतार गर्ने यो सरकार आफैलाई चाँहिदा कता अलमलिएको छ म जान्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्