Logo

‘जनता खुसी पार्न नसके कम्युनिष्ट पार्टी टिक्दैन’



कखरा संवाददाता


२३ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन् ।

मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी रहनको लागि जनता खुसी हुनुपर्ने बताएका हुन् । उनले भने, ‘आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, लोकप्रिय हुँदैन । जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ । मन र भावनालाई बुझ्नलाई जनतालाई नै केन्द्रमा राख्नुपर्छ ।’

उनले २१ औं सताब्दीको जनवादले प्रतिस्प्रधामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए । त्यसैले कम्युनिष्ट पार्टीका नेताले सर्वहारा वर्गको नारा दिएर मात्र नहुने र आफुलाई प्रतिस्प्रधामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने बताए । उनले समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठुलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको बताए ।

उनले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सँधै जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत गाग्रित, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको बताए । उनले जवज जनतालाई अधिकार सम्पन्न बनाउने विचार भएकाले चिन्तन काम र आचरण जनताबाट निर्देशित हुनुपर्ने बताए । उनले सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न दुविधालाई समाप्त पार्दै जवज लाइटहाउसको रुपमा विकास भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्