Logo

काेराेना प्रभाव: कांग्रेसको सम्पूर्ण कार्यक्रमहरु स्थगित



कखरा संवाददाता


२२ फागुन, काठमाडौं । विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरस कोबिड १९)को जोखिम बढेसँगै नेपाली कांग्रेसले आफ्ना सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको जानकारी गराइएको छ । यद्यपि पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहने प्रवक्ता शर्माले जानकारी दिए ।

विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने भन्दै पार्टीले कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्