Logo

एक महिना सार्वजनिक बिदा दिन चिकित्सकहरूको सल्लाह



कखरा संवाददाता


शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आगामी ५ चैतभित्र सक्ने गरी सञ्चालन गर्न आग्रह गरेको छ । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएकाले सतर्कता अपनाउन आवश्यक भएकाले मन्त्रालयले वार्षिक परीक्षा ५ चैतभित्र सम्पन्न गर्न आग्रह गरेको हो । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी शैक्षिक सत्र ०७६ को कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सक्न सबै विद्यालयलाई भनेको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना संक्रमणमा सतर्कता अपनाउनुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको बताए । अहिले संक्रमण नदेखिए पनि जोखिम भएकाले त्यसबाट जोगिन, विद्यालयको भिडभाड कम गराउन मन्त्रालयले आग्रह गरेको हो । विद्यालयमा सभा, समारोह, वार्षिकोत्सवमा भेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न–नगराउन पनि सरकारले आग्रह गरेको छ । आगामी ६ चैतदेखि एसइई सञ्चालन हुँदै छ ।

चिकित्सकहरूले एक महिना सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गरेका छन् । विद्यालय, कलेज, सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएमा धेरै मानिस आ–आफ्नो गाउँ जाने भएकाले काठमाडौं सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ । डा. अनुप बाँस्तोला संकटका वेला एक महिना बिदा दिएमा धेरै समस्या समाधान हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्