Logo

‘बहराइनमा नेपालीहरू सुरक्षित’



कखरा संवाददाता


२० फागुन, काठमाडौं । बहराइनस्थित नेपाली दूतावासले बहराइनमा अहिलेसम्म कुनै नेपालीमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिएको छ । १५ गतेसम्ममा बहराइनमा ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ भने २० भन्दा बढी शंकास्पदहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

बहराइनमा ३५ हजार नेपाली श्रमिक कार्यरत छन् । तर, हालसम्म कुनै नेपालीलाई कोरोना संक्रमण नभएको राजदूत पदम सुन्दासले विज्ञप्ती मार्फत जानकारी दिएका छन् । बहराइन भूगोलको हिसाबले सानो भएकाले पूरै देश कोरोना संक्रमणको उच्च जोखिममा छ ।

दूतावासको सहयोगमा बहराइनको स्वास्थ्य मन्त्रालयले नेपाली भाषामै कोरोना सम्बन्धी विभिन्न निर्देशनहरु जारी गरेको छ । दूतावासले बहराइनमा क्रियाशिल नेपाली संघसंस्थाहरुलाई पनि इमेल मार्फत सूचना प्रवाह गरिरहेको राजदूत सुन्दासले जानकारी दिए ।

श्रम महिला मन्त्रालयका एसिस्टेण्ट अण्डर सेक्रेटरी एच इ अहमेड ज अल हाइकीसँग दूतावासले भेट गरी कोरोनाबारे नेपालीलाई सहयोग गर्न आग्रह गरेको पनि सुन्दासले जानकारी दिए ।

भेटमा बजारमा सर्जिकल मास्कसमेत उपलब्ध नभएको जानकारी दिएपछि मन्त्रालयले नेपाली कामदारलाई मास्क उपलब्ध गराउने प्रयास जारी राखेको जानकारी दिएका थिए । राजदूतावासले फेसबुक र दूतावासको वेभसाइटमार्फत विभिन्न जानकारीहरु दिइरहेको भन्दै राजदूत सुन्दासले कामदारलाई नआत्तिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्