Logo

आफैँले बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु



कखरा संवाददाता


१२ फागुन, एजेन्सी । क्यालिफोर्नियाको मरुभूमिमा आफैँले बनाएको रकेटमा अन्तरिक्ष जान खोजेका एक अमेरिकीको मृत्यु भएको छ । पागल उपनाम राखेका ६४ वर्षीय माइक ह्यूजको वाष्पशक्तिबाट चल्ने रकेटमा अन्तरिक्ष जान खोज्दा शनिवार दुर्घटनामा निधन भएको हो ।

सामाजिक सञ्जालमा उपलब्ध भिडिओमा एउटा रकेट आकाशमा उडेको र केही बेरमै नजिकै जमिनमा खसेको देखिन्छ । ह्यूज पृथ्वी गोलो नभई सम्म भएको प्रमाणित गर्न अन्तरिक्षमा जान चाहेका थिए । यूएस साइन्स टीभी च्यानलमा देखाइने होममेड एस्ट्रोनौट्स कार्यक्रमका लागि उनको सो प्रयास पुरै खिचिएको बताइएको छ । आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा उनी वाष्पशक्तिले चल्ने रकेटमा पृथ्वीबाट ५,००० फिटमाथि जान चाहेका थिए ।

भिडिओमा प्रक्षेपणको केही सेकेन्डमै रकेटको पछाडि प्यारासुट देखिन्छ । एउटा ट्वीटमा साइन्स च्यालनले ह्यूजको आफ्नो सपना पूरा गर्ने क्रममा निधन भएको बताएको छ । सान बेर्नार्डीनो काउन्टीका प्रहरी कार्यालयले सो घटनाबारे आफूलाई दिउँसो दुई बजेतिर जानकारी दिइएको जनाएको छ ।कार्यालयले खुला मरुभूमिमा रकेट खसेपछि एकजना व्यक्तिको मृत्यु भएको बताएको छ ।

ह्यूज र उनका सहयोगीले १८,००० अमेरिकी डलर खर्च गरेर घरमै रकेट बनाएको बताइएको छ । ह्यूज पृथ्वी समतल भएको प्रमाणित गर्ने दाबी गरेर चर्चित भएका थिए । गएको मार्चमा उनी रकेटबाट १,८७० फिटमाथि पुगेका थिए जहाँबाट प्यारासुटमार्फत उनी फर्केका थिए । उनले सन् २००२ मा कार उडाएर १०३ फिटको दूरी पार गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्