Logo

प्रचण्डको अभिव्यक्ति विवादमा, काँग्रेसको आपत्ति



कखरा संवाददाता


२ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

प्रचण्डले आज जनयुद्ध दिवसका अवसरमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाले ‘फौजी आक्रमण बढाइदिनुपर्यो र सदरमुकाम हान्नुपर्यो’ भनेर आफूलाई उक्साउने गरेको अभिव्यक्ति दिएका थिए । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज प्रेस वक्तव्य जारी गर्दै प्रचण्डको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)द्धारा धुुम्रबराहीस्थित पार्टी कार्यालयमा विहिवार आयोजित जनआन्दोलन तथा जनयुद्धका शहीदको श्रद्धाञ्जलिसभामा पार्टीका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ । ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व। गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘यदि कोईरालाले प्रचण्डलाई साँच्चै त्यसो भनेको भए उहाँ जिउँदो छँदै पक्कै सार्वजनिक गर्नुहुन्थ्यो’ भन्दै काँग्रेसले दुख व्यक्त गरेको छ । ‘तर उनको निधन भएको यतिका वर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेबार नेताबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु दुःखद छ ।’ विज्ञप्तिमा भनिएको छ ।

हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैंमा विरोधाभाषपूर्ण रहेको काँग्रेसको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्