Logo

सन्दीप र सुसानको बलिङले नेपालको कीर्तिमानी जित



कखरा संवाददाता


१ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि नेपालले कीर्तिमानी जित निकालेको छ । ३६ रनको विजयीलक्ष्य पछ्याएको नेपालले मात्र ५ ओभर २ बलमा २ विकेट गुमाएर आफ्नो नाममा जित दर्ता गरेको हो ।

यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो लक्ष्य पुरा गर्दै कीर्तिमानी जित निकालेको छ । विश्वमा भने यो तेस्रो सर्वाधिक छिटो जित हो । नेपालको जितमा पारस खड्काले अविजित २० रन जोडे । यस्तै दिपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल शून्यमा पेभेलियन फर्किए । अमेरिकाको लागि केन्जिगेले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १२ ओभरमा सबै विकेट गुमाए ३५ रन बनाएको थियो । अमेरिकाले बनाएको यो स्कोर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोरको बराबर हो । यस अघि सन् २००४ मा जिम्बावेले श्रीलंकाविरुद्ध ३५ रन बनाएर सर्वाधिक कम स्कोर बनाउने कीर्तिमान बनाएको थियो ।

नेपाली स्पिनर बलर चम्किएपछि अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपालका सन्दीप लामिछानेले ६ विकेट लिए । सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट लिएका हुन् । एकदिवसीय अन्तर्राष्ट्रिय सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो । सुशन भारीले ४ विकेट लिए । उनले ३ ओभरमा एक मेडनसहित ५ रन खर्चिए ।

अमेरिकामाथिको सानदार जितसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकाल्न सफल भएको छ ।ओमानसँग दुई खेलमा पराजित भएको नेपालले अमेरिकालाई भने दुई खेलमा पराजित गरेको हो । नेपालले पहिलो भेटमा अमेरिकालाई ३५ रनले हराएको थियो ।

ओमानसँग भने नेपाल पहिलो खेलमा १८ रन र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । ओमानले चार खेल जितेको छ । दुई जितसँगै नेपालले लिगको ४ खेलमा ४ अंक जोडेको छ । नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १२ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्