Logo

लन्डनस्थित नेपाली दूतावासमा ‘सेम डे सर्भिस, नो टुमरो’ नीति



कखरा संवाददाता


२८ माघ, लन्डन । लन्डनस्थित नेपाली दूतावासले आफ्नो सम्पूर्ण सेवा द्रुत गति (फाष्ट ट्रयाक) मा प्रदान गर्न थालेपछि सेवाग्राही लाभान्वित भएका छन् । दूतावासले फाष्ट ट्रयाकमा ‘सेम डे सर्भिस’ र ‘नो टुमरो’ नीति अपनाएसँगै दूतावासको काम कारवाही बढी प्रभावकारी बनेको हो ।

लामो समयसम्म राजदूतबिहीन रहेको नेपाली दूतावास लण्डनमा सन् २०१६ को अन्ततिर संयुक्त अधिराज्य (बेलायत) का राजदूतको रुपमा डा दुर्गा बहादुर सुवेदीले २० औं राजदूतका रुपमा आफ्नो कार्यभार सम्हाले लगत्तै दूतावासका सेवा सुविधाहरुमा थुप्रै परिवर्तन गरिए । कार्यभार सम्हाल्दा शुरुमै राजदूतले दूतावासको सेवा सुविधा छिटो, छरितो र सहज बनाउने अनि ढिलासुस्ती, भ्रष्टाचार, भेदभाव एवं अशिष्ट व्यवहार नियन्त्रण गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको बताएका थिए ।

डा।सुवेदी माल्टा र आयरल्याण्डका लागि समेत राजदूत छन् । हाल दूतावासले ‘सेम डे सर्भिस’ अन्तर्गत भिसा, गैरआवासीय नेपाली परिचय पत्र, अधिकृत वारेसनामा, यात्रा अनुमति पत्र लगायत थुप्रै काम उही दिन तुरुन्तै गर्दै आएको छ । कसैलाई आपत परेको खण्डमा राती १२ बजे पनि दूतावासको ढोका खोलिने राजदूत डा। सुवेदीले बताउंदै आएका छन् । दूतावासका कारण कुनै पनि व्यक्तिले कुनै पनि किसिमको सास्ती भोग्न नपरोस् भन्ने राजदूतको अठोट छ ।

एउटा कामका लागि एउटै व्यक्ति दुईपटकसम्म दूतावास धाउनुपर्दा दूतावासमा भीड बढ्नुका साथै सेवाग्राहीले अनावश्यक रुपमा समय र खर्च व्यहोर्नुपर्ने समस्या मध्यनजर गर्दै सर्वसुलभ तरिकाले तुरुन्तै सेवा प्रदान गर्ने नीति लिएको दूतावासका उपनियोग प्रमुख शरदराज आरनले बताए । पहिला ३–४ दिनसम्म लाग्ने काम अहिले तिनै कर्मचारीबाट फाष्ट ट्रयाक, सेम डेु र नो टुमरोु नीति लागू गर्न कसरी सम्भव भयो त भन्ने प्रश्नमा उपनियोग प्रमुख आरन भन्छन् ‘मुख्य कुरा कामप्रतिको लगनशीलता नै हो ।

आफ्नो कार्यालय समय पूर्ण रुपमा सदुपयोग गर्न सके कामको गति अवश्य बढ्न सक्छ । काम गर्दा आफ्नो होइन, सेवाग्राहीको दृष्टिकोणले नियाल्ने र कुन तरिकाले कसरी काम गर्दा उनीहरुलाई सहज हुन्छ त्यो अनुरुप नै आफूहरु अगाडि बढिरहेको आरनले बताए । आपतकालिन अवस्थामा बिदाको दिन समेत र कार्यालय समयपछि पनि दूतावास कार्यक्रममा सहभागी हुन आउनेहरुलाई आवश्यक सेवा प्रदान गर्दै आइएको आरनले बताए ।

प्रतिक्रिया दिनुहोस्