Logo

पउल स्टर्लिङले इपिएल खेल्ने, चितवन टाइगर्समा अनुबन्ध



कखरा संवाददाता


२८ माघ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) मा अफगानिस्तानका आक्रामक ब्याट्सम्यान एवम् विकेटकिपर मोहम्मद सेहजादलाई अनुबन्ध गरेको चितवन टाइगर्सले पाउल स्टर्लिङलाई पनि टिममा भित्र्याएको छ ।

गत वर्ष पनि टीममा रहेका स्टर्लिङलाई चितवनले दोस्रो विदेशी खेलाडीका रुपमा लिएको आज घोषणा गरेको हो । स्टर्लिङले गत वर्ष पनि चितवन टाइगर्सबाट ईपीएलमा खेलेका थिए । चितवन ईपीएलको प्लेअफमा पुग्दा स्टर्लिङको प्रर्दशनले प्रमुख भुमिका खेलेको थियो । स्टर्लिङ आयरल्यान्डका प्रमुख खेलाडी हुन् ।

गत महिनामात्र उनले आयरल्यान्डलाई वेस्ट इन्डिजसँगको ट्वेन्टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा ४ रनको जित दिलाउन ठुलो भुमिका खेलेका थिए । त्यस खेलमा स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्काको मद्धतमा ९५ रन बनाएका थिए । यस्तै इनिङ उनले किर्तिपुर मैदानमा पनि खेल्ने टिमको विश्वास छ ।

२९ वर्षे स्टर्लिङले आयरल्यान्डबाट ३ टेस्ट, १ सय १७ वानडे अन्तर्राष्ट्रिय र ७५ ट्वेन्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । ट्वेन्टी २० मा २ हजारभन्दा बढी रन बनाउदा स्टर्लिङको स्ट्राइक रेट झन्डै १ सय ४० रहेको छ । स्टर्लिङले बंगलादेश प्रिमियर लिग, टि १० लिग र इंग्लिस काउन्टी मिडलसेक्सबाट खेलिसकेका छन् ।

सोमपाल कामीलाई ट्रेडमार्फत लिएको चितवन टाइगर्सबाट कमलसिंह ऐरी, सागर ढकाल, शाहव आलम, दिलीप नाथ, ललितसिंह भण्डारी, इशान पाण्डे, आदिल खान, सन्दीप सुनार, भिम सार्की, खडक बोहोरा लगायतका खेलाडी खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्