Logo

चीनबाट नेपाली विद्यार्थीको गुहारः खान पाएनौं, छिटो घर फर्काउ



कखरा संवाददाता


२५ माघ, काठमाडौं । कोरोना भाइरसको प्रकोप फैलिरहेको चीनमा रहेका नेपाली विद्यार्थीहरुले आफूहरुलाई जतिसक्दो चाँडो घर फर्काउन अपिल गरेका छन् ।

सामूहिक भिडियो सन्देश जारी गर्दै मेडिकल शिक्षा लिइरहेका एक दर्जनभन्दा बढी विद्यार्थीले नेपाल सरकारसमक्ष यस्ताे अपिल गरेका हुन् । आफूहरु दुई हप्तादेखि क्वारेन्टाइनमा बसिरहेको भन्दै उनीहरुले खानपिउन पनि समस्या भएको बताएका छन् । ‘हाम्रा बाबु-आमा, घरपरिवार पनि निकै चिन्तित भएका छन्’, उनीहरुको भनाई छ, ‘हामी पनि खानपीनको समस्याले निकै तनावमा छौं जतिसक्दो चाँडो उद्दार गरियोस् ।’

चीनमा रहेका नेपाली फर्काउँदा यहाँ पनि रोग फैलने केही सांसदको अभिव्यक्तिप्रति लक्षित गर्दै उनीहरुले आफूहरु संक्रमणमा नपरेको बताएका छन् । उनीहरु भन्छन्,’हामी दुई हप्तादेखि यहाँ क्वारेन्टाइनमा छौं, हामी स्वस्थ छौं । हामीलाई कोरोना भएको छैन । ढुक्क हुनुस् हामी तपाईहरुलाई रोग सार्दैनौं ।

सरकारले १ सय ८० जना विद्यार्थीलाई नेपाल फर्काउने भनेपनि अहिलेसम्म उद्दार गरेको छैन । बाहिर निस्कनसक्ने परिस्थिती नभएकाले उनीहरुको खानपीनमा समस्या भएको हो । नेपालमा रहेका उनीहरुका अभिभावकहरु त्रसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्