Logo

नेपाल ओमानसँग १८ रनले पराजित



कखरा संवाददाता


२३ माघ, काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ त्रिदेशीय सिरिज अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको छ । १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर ओमानसँग पराजित भएको हो ।

नेपालका लागि शरद भेषावकरले अर्धशतिकय पारी खेले । उनले १ सय ८ बलको सामना गर्दै ५५ रन बनाएका छन् । यस्तै दीपेन्द्रसिंह ऐरीले ३६, सन्दीप लामिछानेले २८ र विनोद भण्डारीले २६ रन ल्याउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल १ रन, पारस खड्का ३ रन बनाएर पेभेलियल फर्किए । बलिङतर्फ ओमानका जीसन मसुदले ३, बिलाल खान र कलीमुल्लाहले समान २–२ विकेट लिए ।

त्यसअघि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । ओमानका लागि उसका लागि मोहम्मद नदीम अर्धशतकिय पारी खेले । ९६ बलको सामना गरेका उनले ६९ रन बनाए । यस्तै सन्दीप गौड ३३, नसीम खुसी २८, जीसन मक्सुद २० र अकिव इयासले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

बलिङतर्फ नेपालका करण केसीले ४, सुसन भारीले ३ र दीपेन्द्र सिंह ऐरीले १ विकेट लिएर अकिव इलयासलाई रनआउट गर्दा कहलिएका बलर सन्दीप लामिछाने विकेटविहिन बने । सुसन भारतीले आफ्नो डेब्यु म्याचमै ३ विकेट लिएर सबैसामू आफ्नो प्रतिभा देखाउँदा सन्दीपले १ विकेट पनि लिन सकेनन् ।

आजको खेल जितेसँगै आइसीसी विश्वकप क्रिकेट लिग–२ को अंकतालिकामा ओमान चौथो बाट दोश्रो स्थानमा पुगेको छ । नेपाल भने पहिलो खेलमा नै हार बेहोरेपछि अन्तिम स्थानमै छ । नेपालले एकदिवसीय मान्यता पाएपछि पहिलोपटक आफ्नै देशमा सिरिजको आयोजना गरेको हो । नेपालले अब आफ्नो अर्को खेल शनिबार अमेरिकासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्