Logo

नेकपा बैठक : एमसीसीबारे पार्टी धारणा सार्वजनिक हुनुपर्ने माग



कखरा संवाददाता


१८ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकको तेस्रो दिन (आज) बोल्ने नेताहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरेका छन् । विभिन्न १५ समूहमा चलाइएको समूहगत छलफलमा अधिकांशले एमसीसीको विपक्षमा धारणा राखेका हुन् । समूहहरुको छलफलमा एमसीसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरुले बुझ्ने गरी पार्टीको आधिकारीक धारणा माग गरिएको हो ।

नेकपा केन्द्रीय सदस्य गंगालाल तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताउनुभयो । पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरुले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरुलाई चेतावनी समेत दिएका छन् । पार्टीले उपयुक्त समयमा एमसीसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्षसहित केही सदस्यहरुले अध्ययन समूह बनाएर जानुपर्ने धारणा राखेको तुलाधरले बताउनुभयो । ‘हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ । अहिले एमसीसीको विषयले पनि नेकपालाई कतै त्यही ठाउँमा लैजान्छकी भन्ने आशंका उब्जिएका छन् । त्यसैले एमसीसी के हो ? भन्ने कुरामा स्पष्ट हुनुपर्छ भन्ने कुरा आएको छ’, उहाँले भन्नुभयो ।

नेकपाका अर्का केन्द्रीय सदस्य सुरेश कुमार राईले सबै समूहमा एमसीसीका विषयमा तीन प्रकारका धारणा आएको बताउनुभएको छ । ‘यो नेपालको हितमा छ समितिबाट पास गरेर सरकारले कार्यान्वयनमा लैजानुपर्छ भन्ने एउटा धारणा छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आंशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बहस नराम्रो भएको धारणा आएको छ’, उहाँले भन्नुभयो ।

यस्तै केन्द्रीय सदस्य शिवनारायण यादवले विशेषगरी पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा आएको बताउनुभयो । एमसीसीको विषयमा दुई थरी कुरा आएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ । यो विषयमा पार्टीले उच्च स्तरिय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ । जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर राष्ट्रलाई अहित गर्छ भने लिनु हुन्न भन्ने कुरा आएको छ ।’

नेकपाको बैठकमा शुक्रबारबाट समूहगत छलफलमा उठेका विषयहरुलाई समूह नेताहरुले प्रस्तुत गरिरहेका छन् । शुक्रबार ४ वटा समूह र प्रदेश अध्यक्षहरुले आफ्नो प्रस्तुति राखेका छन् । बैठक शनिबार पनि जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्