Logo

१९ वर्षे किशोरले बनाए दुई खेलमै कीर्तिमान



कखरा संवाददाता


११ माघ, काठमाडौं । जर्मन बुण्डेस लिगा क्लब बोरुसिया डर्टमुण्डबाट खेल्दै आएका नेदरल्याण्डसका १९ वर्षे स्ट्राइकर एर्लिङ ब्राउत हाल्याण्डले उत्कृष्ट प्रदर्शनको क्रम जारी राखेका छन् ।

उनी बुण्डेस लिगाका आफ्नो सुरुको दुई खेलमा पाँच गोल गर्ने पहिलो खेलाडी बनेका छन् । गएको हप्ता ५६ औँ मिनेटमा रिप्लेसमेन्टको रुपमा मैदान छिरेर बुण्डेस लिगामा डेब्यु गरेका उनले औग्सबर्गसँगको खेलमा ह्याट्रिक गरे ।

त्यसपछि उनले शुक्रबार राति भएको खेलमा थप दुई गोल गरेका छन् । घरेलु मैदानमा भएको खेलमा उनको दुई गोलको सहयोगमा बोरुसिया डर्टमुण्डले एफसी कोल्नलाई ५–१ ले पराजित गरेको छ ।

हाल्याण्डले ७७ र ८७ औँ मिनेटमा गोल गरेका हुन् । त्यसअघि गुएइरोले पहिलो मिनेट, रेउसले २९ औँ तथा सान्चोले ४८ औँ मिनेटमा गोल गरेका थिए । एफसी कोल्नका लागि ६४ औँ मिनेटमा उथले एक गोल फर्काए ।

हाल्याण्ड यहि महिना रेड बुल साल्ज्बर्गबाट बोरुसिया आएका हुन् । यो सिजनको आधा समयमा रेड बुलका लागि २२ खेलमा २८ गोल गरे । यसमध्ये च्याम्पियन्स लिगका ६ खेलमा ८ गोल समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्