Logo

‘एमसीसीलाई अरुण तेस्रो जस्तै धरापमा पार्न खोजियो’



कखरा संवाददाता


५ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री कमल थापाले देशको हित नचाहनेले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अरुण तेस्रो जस्तो धरापमा पार्न खोजेको बताएका छन् ।

पार्टीको भ्रातृ संगठन यूनियन महासंघ नेपालको शनिबार बागमती प्रदेशस्तरीय श्रमिक भेलामा अध्यक्ष थापाले एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि नहुने स्पष्ट पार्दै यस्तो बताएका हुन् ।

उनले अमेरिकाले नेपालकै आग्रह अनुसार एमसीसी परियोजनामार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको उल्लेख गरे ।

अध्यक्ष थापाले सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादको असर संघीय सदनमा देखिएको भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको समेत बताए । पार्टीको आन्तरिक विवादले सदन अबरुद्ध हुनु भनेको प्रजातान्त्रिक मूल्य र मान्यता विरुद्ध भएको अध्यक्ष थापाको भनाइ छ ।

उनले सरकारले जनताको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नुतर्फ भन्दा पनि भ्यूटावर निर्माणतर्फ केन्द्रीत भएको भन्दै आलोचनासमेत गरे ।

प्रतिक्रिया दिनुहोस्