Logo

नक्कली भ्याट बिल प्रकरण : भाटभटेनीले ८० करोड छल्यो



कखरा संवाददाता


२९ पुस, काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको ठहर गरेको छ । राजस्व न्यायाधीकरणबाट भएको फैसला सदर गर्दै सर्वोच्चले सोमबार उक्त निर्णय सुनाएको हो ।

भाटभटेनीले मूल्य अभिवृद्धि कर छली र त्यसका आधारमा आयकर समेत छली गरेको आधारमा ८० करोड रुपैयाँ राजस्व निर्धारण भएको थियो । भ्याट छलीमा १० वर्षअघि शुरु भएको अनुसन्धान सर्वोच्चको यो फैसलासँगै कर उठाउने बाटो खुलेको छ । २०६७ साल फागुनमा पहिलोपटक आन्तरिक राजस्व विभागले छापा मारेर २०६४ सालदेखिको कारोबारको अनुसन्धान अघि बढाएको थियो ।

कर निर्धारण हुँदै गर्दा तत्कालीन समयमा अनुसन्धान गर्ने शीर्ष तहका कर्मचारीहरुको सरुवापछि भाटभटेनी लगायत अन्य फर्महरुको अनुसन्धान लम्बिएको थियो । भाटभटेनीले वस्तु आपूर्ति गर्नेहरुसँग खरिद गरेको नक्कली बिजक बनाएर आफ्नो खर्च बढाएको थियो । यसरी मूल्य अभिवृद्धि कर र आयकर छली गरेको पाइएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग नगरेको दाबीलाई अस्वीकार गरेको हो । न्यायाधीकरणले नक्कली भ्याट बिल प्रयोग गरेको ठहर गरेपछि भाटभटेनीले २०७४ मा सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

न्यायाधीकरणबाट फैसला हुनुअघि आन्तरिक राजस्व विभागले राजस्व छलीमा कारबाही गरेपछि भाटभटेनी २०७४ पुसमा सर्वोच्च पुगेको थियो । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्