Logo

जब गोठबाट सर्प निस्कियो



कखरा संवाददाता


२९ पुस, काठमाडौं । अछाममा पुस ९ गतेदेखि प्रहरी, प्रशासन, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा छाउगोठ झत्काउन थालियो । अभियान जिल्लाभर चलेपछि मंगलसेन नगरपालिका–८ की धनसरा खनाललाई लाग्यो–अब आफ्नो छाउगोठ पनि भत्काउनुपर्छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरी पुग्नुअघि नै उनले गोठ भत्काउने निधो गरिन् । जब उनी भत्काउन लागिन्, त्यहीबेला गोठबाट सर्प निस्कियो । ‘दुई दिनअघि मात्रै म त्यही गोठमा बसेकी थिएँ । प्रहरीले भत्काउनु नभनेको भए अर्को पटक पनि त्यही बस्थे,’ उनले भनिन्, ‘धन्न मेरो ज्यान जोगियो ।’ प्रत्येक छाउगोठ यस्तै असुरक्षित रहेको उनको भनाइ छ । ‘प्रहरीले छाउगोठ भत्काइदियो भन्दै नराम्रो मानेका थियौं, यो त हाम्रै ज्यान जोगाउनका लागि रहेछ,’ उनले भन्छिन्, ‘छाउ नबार्दा सर्प आउँछ भन्थे, यहाँ त छाउगोठमै आयो ।’

सोमबारसम्म मंगलसेनलगायत १० पालिकाका १८ सय ५८ छाउगोठ भत्काइएको प्रहरी प्रमुख दीपक भारतलीले जानकारी दिनुभयो । कान्तिपुर दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्