Logo

फलामको रडले घोची–घोची घाइते बनाएर ट्रिपरले किचियो



कखरा संवाददाता


२७ पुस, काठमाडौं । खोला दोहनविरुद्ध उत्रिएका युवा दिलीप महतोलाई ट्रिपरले जानजान किचेर मारेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्षअनुसार बालुवा–गिट्टी उत्खनन गरेको थाहा पाएपछि दिलीप शुक्रबार बिहान ट्रिपर समात्न गएका थिए ।

त्यही बेला उनलाई समातेर फलामको लिभरले दाहिने कोखमा घोची घाइते बनाएपछि खोलामा सुताएर ट्रिपरले किचिएको थियो । ‘सवारी ज्यानमा भवित्व्य बनाएर उन्मुक्ति पाउन नाटक रचेको हुन सक्छ, प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने ।

प्रदेश प्रहरी प्रमुख कार्कीले सवारी ज्यानमा नभई कर्तव्य ज्यानमा मुद्दा चलाउन धनुषा प्रहरीलाई निर्देशन दिएका थिए । ‘सडकमा तीव्र  गति हुँदा ट्रिपरले मान्छे मार्छ । खोलामा ट्रिपर तीव्र गतिमा हुँदैन । मान्छे आए रोक्न सकिन्छ,’ उनले भने, जानीबुझी ट्रिपर प्रयोग गरेर मारिएको हो ।’

दिलीपको परिवारलाई वकिलले पनि कर्तव्य ज्यानमै जाहेरी दिन सुझाएका थिए । त्यसपछि परिवारले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको छ । दिलीपको परिवारले क्रसर सञ्चालक दाजुभाइ विनोद र विपिनकुमार महतो, ट्रिपर चालक मुनिन्द्र महतो र दिलीपसँगै खोलामा पुगेका रोशनकुमार यादवविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गराएको हो । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्