Logo

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको प्रभावशाली जित



कखरा संवाददाता


२७ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले प्रभावशाली जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीलाई ४–० ले पराजित गरेको हो । युनाइटेडको जितमा मार्कश राशफोर्डले दुई तथा एन्थोनी मार्सल र म्यासन ग्रीनवुडले एक–एक गोल गरे ।

२७ औँ मिनेटमा राशफोर्डले गरेको गोलबाट युनाइटेडले सुरुवाति अग्रता लियो । दोस्रो हाफमा युनाइटेडले थप तीन गोल गरेको हो । ५२ औँ मिनेटमा पाएको पेनाल्टीमा राशफोर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

मार्सलले ५४ औँ तथा ग्रीनवुडले ७६ औँ मिनेटमा गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो । जितपछि युनाइटेड पुनः पाँचौँ स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ३४ अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा बर्नलीलाई ३–० ले पराजित गरेको चेल्सी २२ खेलबाट ३९ अंकसहित चौथो स्थानमा छ ।

यस्तै शनिबार राति नै भएका अरु खेलमा एभर्टनले ब्राइटनलाई १–० ले हरायो भने वुल्भ्स र न्यूक्यासल तथा क्रिष्टल प्यालेस र आर्सनलले समान १–१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्